बाग्मती प्रदेश : तीन मन्त्रालय गाभेर ११ वटामा कायम गरिने

 पुस ३०, २०७९ शनिबार ११:१६:४२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशमा १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा मन्त्रालयमा कायम गरिने भएकाे छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले १४ वटा मन्त्रालय बनाए पनि त्यसअनुसार काम नभएकाले ११ वटा मन्त्रालय कायम गर्न लागिएको हो । अब छिट्टै तीन वटा मन्त्रालयलाई गाभेर ११ वटा कायम गरिने  प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले बताउनु भयाे। 

मन्त्रालयको सङ्ख्या घटाएर राज्यमन्त्री समेत नराखिने उहाँले बताउनुभयो । पहिलेको सरकारले १४ वटा मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत गरेर १८ जना मन्त्री रहेका थिए ।अहिलेका कामकाजी र बजेट धेरै भएका मन्त्रालयलाई यथावत् राख्ने र अरु मन्त्रालयलाई गाभ्ने तयारी भएको छ । बजेट कम र काम पनि कम भएको सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय गाभिन सक्ने जम्मकट्टेलले बताउनुभयाे।

पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री जम्मकट्टेलले यस प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन कार्यदल गठन गर्नुभएको थियाे । मन्त्रालयको सङ्ख्या घटाउनका लागि प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएकाे थियाे । मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गरेर टुङ्ग्याइने मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । पछिल्लो मन्त्रिपरिषदमा चार राज्यमन्त्रीसहित १८ मन्त्री ताेकिएकाे थियाे । 

कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् । बाग्मतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय सङ्ख्या बढाएर १४ पुर्याइएको थियो । जम्बो मन्त्रिपरिषद् बनाइएपछि पाण्डे नेतृत्वको गठबन्धन सरकारको व्यापक आलोचना भएको थियो ।

मन्त्रालय सङ्ख्या बढाउने तत्कालीन गठबन्धनको निर्णयमा वर्तमान मुख्यमन्त्री जम्मकट्टेलको समेत समर्थन थियो । उहाँले सरकारको नेतृत्व गरेपछि मन्त्रालय सङ्ख्या घटाउने तयारी रहेको हो । मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गरेर टुङ्ग्याइने मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया