बेनी–गलेश्वर सडक खण्ड : गाडी रोकेर स्तरोन्नति गरिने

 माघ २७, २०७९ शुक्रबार २०:२१:४७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नति गरिने भएको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि दैनिक साढे छ घण्टा सडक बन्द गर्न लागिएको हो । 

सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको वैठकले बेनी–गलेश्वर खण्डमा गाडी सञ्चालन गर्ने र बन्द हुने समय तालिका बनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समितिको वैठक बसी आवश्यक निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रजिअ पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, स्थानीय जनप्रतिनिधि, बेनी–जोमसोम–कोरला सडक योजना, सुरक्षा निकाय, निर्माण कम्पनी, यातायात व्यवसायीलगायत सहभागी बैठकमा दैनिक साढे छ घण्टा गाडी बन्द गरी सडक स्तरोन्नतिको काम गरिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । 

बैठकको निर्णयअनुसार आउँदो फागुन १ गतेदेखि १५ गतेसम्म दैनिक बिहान ६ बजेदेखि ८, दिउँसो साढे ११ बजेदेखि साढे १ र राति साढे ८ बजेदेखि ११ बजेसम्म गाडी आउजाउ राेकेर सडक स्तरोन्नति हुने सहायक प्रजिअ शर्माले बताउनुभयो । यसैगरी एम्बुलेन्सलगायत अत्यावश्यक गाडी र साना गाडीलाई बेनीको डल्लेपिपल–राहुवडा हुँदै गलेश्वरसम्म वैकल्पिक मार्गबाट आउजाउको व्यवस्था मिलाउने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

सडक स्तरोन्नतिको काम र गाडी सञ्चालन सँगसँगै हुँदा सम्भावित दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य पनि प्रभावित भएपछि समय तालिका बनाइएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न जय धनञ्जय मंगलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चार सय २६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले सम्झौतापछि अहिले सडक फराकिलो बनाउने, पहाड काट्ने र पर्खाल लगाउने काम भइरहेको बताउनुभयो । 

आउँदाे दुई वर्षभित्र सडकमा १० मिटरसहित नाली निर्माण गर्ने, भू–क्षय तथा पहिरो नियन्त्रणका लागि पर्खाल लगाउने र खोल्सामा कल्भर्ट बनाउने तथा ८ मिटरको सडकमा कालोपत्र गरिनेछ । अहिले सडक स्तरोन्नतिका लागि दैनिक तीन वटा डोजर तथा ८५ जना मजदुर परिचालन भएका छन् । बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दुरी रहेको यो सडक खण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई छुने गर्दछ । बेनी–गलेश्वर खण्ड बेनी नगरपालिका हुँदै उत्तरी म्याग्दीको रघुगंगा, अन्नपूर्ण भएर हिमाली जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया