म्याग्दी : लस्ती-बनौ सडक खण्ड निर्माणपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै छोटियो

 फागुन २२, २०७९ सोमबार १०:१:११ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

म्याग्दी - जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पुग्न सकिने भएकाे छ । 

सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताउनुभयो । 

'बनौदेखि पाङ-अर्मादी-मालढुङ्गा-लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो', उहाँले भन्नुभयो, '२० किलोमिटर दूरीको बनौ-लस्ती-लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ ।' 

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ सालदेखि लस्ती-बनौ सडक निर्माण सुरु भएको थियो । सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन् । 

सडक निर्माणमा सङ्घीय सरकारबाट दुई चरणमा १ करोड ३० लाख रुपैयाँ विनियोजन भए पनि भौगोलिक कठिनाइ र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन । गएकाे वर्ष जलजला गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो।

 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया