अर्घाखाँची : बाख्रा पालनबाट मनग्य आम्दानी, वार्षिक १० करोड रुपैयाँ बराबरकाे खसीबोका निर्यात

 फागुन ३०, २०७९ मंगलबार १३:३८:१० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका वडा नम्बर १३ सिमलपानी ढावाका कृषक विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गर्नुभयो । नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उहाँ बाख्रा पालनमा लाग्नुभयो । उहाँको फर्ममा अहिले साना ठूला गरी झण्डै एक सय ५० बाख्रा छन् । 

'वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै जन्मभूमिमा आएर बाख्रा पालेको छु । वार्षिक १०/१२ लाख रुपैयाँ खर्च कटाएर आम्दानी हुने गरेको छ । चार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष पाँच जनालाई रोजगारी पनि दिएको छु ।' उहाँले भन्नुभयो बाख्रा पालनमा बजारको कुनै समस्या छैन । झडै ७४ रोपनी क्षेत्रफलमा घाँस खेती र बाख्रा फर्म रहेको छ । 

पहिला पहिला बाहिर जिल्लाबाट खसीबोका आयात हुनेमा अहिले जिल्ला निर्यात गर्न सफल भएको छ । बाख्रापालनबाट कृषकहरु लाभान्वित भएका छन् । 'जिल्लाबाट मासुका लागि बोका तथा बाख्राहरु जिल्ला बाहिर निर्यात हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख पाण्डेले भन्नुभयाे 'झण्डै १० करोड रुपैयाँको खसीबोका, बाख्रा तथा मासुजन्य पदार्थ जिल्लाबाट बाहिर जाने गरेको छ।'

शीतगङ्गा नगरपालिका वडा नम्बर ६ जुकेनाको फेदीमा स्थायी शिक्षक लक्ष्मण ओलीको बाख्रा फर्म पनि लोभलाग्दो छ ।  उहाँ स्थानीय डिही आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । जागिर खान जाजरकोटबाट आउनु भएका ओली विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रा पालनमा लाग्नुभयो । उहाँको गोठमा अहिले एक सय २४ वटा बाख्रा छन् । 

एमएड पास गरेका उहाँ मात्र हैन उहाँकी श्रीमती करुणा ओली पनि शिक्षक हुुनुहुन्छ । तर उहाँहरु समाजमा केही गरेर अरुलाई प्रेरणाको स्राेत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रा पालनमा लाग्नु भएकाे हाे । बाख्रापालनको लागि राम्रो ठाउँ, चरनको व्यवस्था आदि भएको देखेपछि बाख्रापालनमा लागेको शिक्षक ओलीको भनाइ छ । 

गोठमा एक सय २४ वटा बाख्रा छन् । ओलिले भन्नुभयो 'एक वर्षमा बोका तथा बाख्राका पाठीहरु बेचेर २१ लाख रुपैयाँको कारोबार भयो । बाख्राको दाना, घाँस, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर ८ लाखभन्दा बढी बचत भएको छ ।' उहाँको फर्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

शिक्षण पेसा मूल पेसा भएकाले बिहान बेलुकाको समयमा मात्र आफूले बाख्राको हेरचार गर्ने गरेकाे उहाँले बताउनु भयाे । अरु सबै कामदारको जिम्मामा रहेकाे उहाँकाे भनाइ छ । कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनलाई आफूहरुले बढी जोड दिएको उहाँले बताउनुभयो । 

शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित खसीबोकाको बिक्रीमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिँदै आएको छ । अर्घाखाँची जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताउनु भयाे । 

यहाँबाट कपिलवस्तु, दाङ, रुपन्देही, काठमाण्डौ, पोखरा लगायत ठाउँमा  खसी बोका  मासुका लागि निर्यात हुने गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया