डोटीमा दुई सय ५३ सिँचाइ आयोजना निर्माण हुँदै

 चैत २३, २०७९ बिहिबार १३:४८:९ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डाेटी – डोटीमा चालु आर्थिक वर्षमा दुई सय ५३ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तरगत आयोजना निर्माणका लागि प्रदेश सरकारले ४० करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । अघिल्लाे आथिर्क वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजनाहरु निर्माण गरिएको थियो । 

चालु आर्थिक वर्षमा सिँचाइ तर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ । जस अन्तरगत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना निर्माण गर्ने लक्ष रहेको सिँचाइ विकास डिभिजन कार्यालय डोटीका सूचना अधिकृत मेखु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको बजेटमा १० लाख देखि ३० लाख सम्मका आयोजनाहरु समेटिका छन् । 

खेतीयोग्य र उत्पादनशील जमिन रहेका क्षेत्रहरुमा आयोजनाहरु निर्माण हुँदै आएका छन् । विशेषतः धान, गहुँ उत्पादन हुने खेतका लागि बढी आयोजनाहरु माग हुँदै आएका छन् । आदर्श गाउँपालिका–५ मा गडखेत तलारा सिँचाइ आयोजना निर्माण गरिएको छ । दिपायल सिलगढी नगरपालिका–८ दाङमा बालखेत सलडा सिँचाइ आयोजना, जोराय गाउँपालिका–४ मा रावलगाउँ सिँचाइ आयोजना निर्माण गरिएको छ । यी क्षेत्रहरुमा खेतीका लागि उपयुक्त ठूलठुला फाँटहरु छन् । एउटा आयोजनाले दुईसय देखि चार सय किसानहरुलाई राहत मिलेको सिँचाइ विकास डिभिजन कार्यालयको दाबी छ । 

प्रदेश सरकार स्थापना भएदेखि हालसम्म वार्षिकरुपमा मर्मतसहित तीन सय देखि पाँच सय आयोजनाको काम हुने गरेको छ । सिँचाइ विकास डिभिजन कार्यालयमा प्रदेश सरकारको तुलनामा संघ सरकारको १० देखि १५ प्रतिशत मात्रै बजेट आउने गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले डोटीका लागि ४० करोड ९८ लाख २१ हजार ७२३ रुपैंया बजेट विनियोजन गरेको थियो भने संघ सरकारबाट ६ करोड १७ लाख बजेट मात्रै प्राप्त भएको थियो ।

आयोजनाहरुको सम्झौता भएर असार मसान्त भित्र निर्माण सम्पन्न हुने गरी काम भैरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिपायल डोटीले जनाएको छ । त्यसमध्य केही आयोजनाहरु क्रमागत भएकाले अर्को आर्थिक वर्षमा समेत निरन्तरता पाउने छन् ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया