अर्थतन्त्रमा देखिएकाे समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : मन्त्री महत

 वैशाख ४, २०८० सोमबार १८:७:४५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताउनुभयो ।

‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ । केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ’, अर्थमन्त्री डा. महतले भन्नुभयो । उहाँले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै देशको अर्थ व्यवस्थाबारे जानकार व्यक्तिले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

‘अहिले देखापरेको अप्ठ्यारोमा एकअर्कालाई सहयोग गरौँ । सहज अवस्थामा कसैलाई कसैको सहयोगको आवश्यकता पर्दैन तर अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

मन्त्री महतले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम हुन नसकेको बताउनुभयो । ‘अहिलेको अवस्था राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौती छ’, उहाँले भन्नुभयो, ‘हामीले नीतिगत रूपमा धेरै कुरा भनेका छौँ तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तदम्य नहुँदा समस्या सिर्जना भएको उहाँको भनाइ थियो । ‘बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्छ’, अर्थमन्त्रीको भनाइ छ । 

उहाँले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिँदै भन्नुभयो, ‘आर्थिक सूचाङ्क अब सकारात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिल्यै चासो राखेको हुन्छ । उनीहरूको सल्लाह सुझावमा पुराना नीति समय सापेक्ष बनाउने पहल गरेका छौँ ।’

निजी क्षेत्रले पनि आफ्नो वास्तविकता बताउनुपर्ने भन्दै मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा‍. महतले बताउनुभयो । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएकाले बैंकर्स एसोसिएशनले ब्याजदरमा हेरेफेर गरेकाले केही अप्ठ्यारा भए पनि त्यो कदमले समग्र पक्षको आर्थिक सुधारमा भने मद्दत पुगेको उहाँको भनाइ छ । 

त्यस अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र र उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया