वैदेशिक रोजगार ठगीको अनेक रूप : अमेरिका र अस्ट्रेलियादेखि युरोप पठाउने प्रलोभन देखाएर लाखौँ ठगी

 बैशाख २०, २०८० बुधबार १५:८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा अमेरिका, अस्ट्रेलियादेखि युरोप र खाडीका देशमा लाखौँ कमाइ हुने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने क्रम बढेको छ ।

यसरी ठगी गर्नेमा सरकारले खारेज गरिसकेका एजेन्टहरू बढी संलग्न रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा परेको उजुरी पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजतपत्र लिएका म्यानपावरबाट भएको ठगीभन्दा पनि एजेण्टबाट भएको ठगी नै बढी छन् ।

चालू आर्थिक वर्षको फागुनसम्म ६ सय ८६ वटा व्यक्तिगत ठगीका उजुरी विभागमा दर्ता भएका छन् । एजेण्टहरुबाट भएको ठगीलाई विभागले व्यक्तिगत ठगीको रूपमा उजुरी लिने गरेको छ । व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउँछु भन्दै रकम लिएपछि फरार भएकाहरूलाई प्रहरीले दैनिकजसो पक्राउ पनि गरिरहेको छ ।

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै रकम लिएपछि फरार भएकाहरूलाई पक्राउ गरी उपस्थित गराइदिन गरेको पत्राचार अनुसार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैशाख महिनाको १९ दिनमा मात्रै १८ जनालाई पक्राउ गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगार ठगीको अनेक रूप

रोजगारीको लागि कम्बोडिया पठाउँछु भन्दै सात लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका चितवनका राजु श्रेष्ठ मङ्गलवार काठमाण्डौको कोटेश्वरबाट पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा कम्बोडिया पठाउने र कम्बोडिया पुगेपछि महिनाको एक लाख तलब पाउने आश्वासन देखाएर बिजु कार्कीसँग सात लाख रुपैयाँ लिएपछि राजु फरार भए । उनले आरएफसी सेक्युरिटी गार्डको काम लगाइदिने पनि भनेका थिए बिजुलाई ।

तर जब पैसा हात पर्‍यो तब उनी एकाएक सम्पर्कविहीन भएपछि बिजुले न्यायका लागि वैदेशिक रोजगार विभागमा उजुरी दिनुभयो । विभागले राजुलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्राचार गरेपछि राजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अस्ट्रेलिया पठाउने आस देखाएर ठगी 

काठमाण्डौका लाजिम्पाटमा माझी बिष्ट्रो रेस्टुरेन्ट चलाउने चितवनका सञ्जय रेग्मीले अमृता गुरुङलाई अस्ट्रेलिया पठाउने भन्दै ३० लाख रुपैयाँ मागे ।

अस्ट्रेलियामा कम्पनीमा काम पनि लगाइदिने र मिनाको तीन लाखभन्दा बढी तलब महिनाकै कमाइ हुने सञ्जयको कुरा सुनेपछि अमृताले ३० लाख रुपैयाँ बुझाउनुभयो । तर पैसा हात परेपछि सञ्जय एकाएक फरार भए । पैसा लिएर सञ्जय फरार भएपछि अमृताको अस्ट्रेलिया सपना त सकियो नै अब फसेको पैसा कसरी उठाउने भन्ने चिन्ताले पिरोल्यो ।

बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा उजुरी दिनुभयो । अमृताको उजुरीपछि वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गर्‍यो ।

सञ्जयलाई यही वैशाख १७ गते प्रहरीले पक्राउ गरेको छ । उनले गरेको ठगीको सन्दर्भमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

पोर्चुगल पठाउने भन्दै २१ लाख ठगी

तीन जनालाई पोर्चुगल पठाउने आश्वासन दिएर २१ लाख रुपैयाँ ठगी गरेको भन्दै गोरखाको घ्यालचोक गाउँपालिकाका दुर्गाबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ललितपुरको गोदावरी नगरपालिकाको ठैवबाट प्रहरीले पक्राउ गरेको हो ।

सुजन कार्कीसहित तीन जनालाई पोर्चुगलमा ठुलो होटलमा काम लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने दुर्गाबहादुरले बताएका थिए । महिनाको दुई लाखभन्दा बढी तलब हुने आश्वासन उनले देखाएका थिए ।

भिसा प्रक्रिया लगायत विभिन्न बहानामा पटक पटक गरी उनले तीन जनाबाट २१ लाख रुपैयाँ लिएर पीडितहरूसँग सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

यस्तै पोर्चुगलमै रोजगारीका लागि लैजानेभन्दै अजरबैजान पुर्‍याएर एक जनालाई अलपत्र पारेको आरोपमा कैलालीको टीकापुरका कृतकबहादुर साउँदलाई पनि यही वैशाख १३ गते प्रहरीले पक्राउ गरेको छ ।

दिनेश बमलाई पोर्चुगलमा ठुलो कम्पनीमा काम लगाइदिने र महिनाको दुई लाख रुपैयाँभन्दा बढी कमाइ हुने आश्वासन देखाएर कृतकले १३ लाख ९२ हजार रुपैयाँ लिएका थिए ।

तर अजरबैजान पुर्‍याएर बाटोमै अलपत्र पारी कृतक सम्पर्क विहीन भएका थिए । उनलाई प्रहरीले काठमाण्डौको सिनामंगलबाट पक्राउ गरेको हो ।

इजरायल पठाउँछु भन्दै ४८ लाख ठगी

पाँच जनालाई इजरायल पठाउँछु भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाण्डौको कपन बस्ने झापाकी हरीकला दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

  रकम लिएर पाँचै जनासँग सम्पर्क विहीन भएको भन्दै वैदेशिक रोजगार विभागमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले इजरायलमा निर्माणको क्षेत्रमा काम लगाई दिने विश्वासमा पारी पाँच जनाबाट ४८ लाख रुपैयाँ रकम उठाएको प्रहरीले उल्लेख गरेको छ ।

यस्तै, क्यानडा पठाउँछु भन्दै ९ लाख रुपैयाँ लिएपछि सम्पर्क विहीन भएर ठगी भनेको भन्दै पोखराकी विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । क्यानडामा वेटरको काम लगाइदिने भन्दै सुनिता गोतामेसँग पटक पटक गरी ९ लाख रुपैयाँ लिएपछि बिपना फरार भएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागको पत्राचार अनुसार उनलाई वैशाख ११ गते काठमाण्डौको गोकर्णेश्वरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

तनहुँको भिमाद नगरपालिकाका मनबहादुर कुमाललाई पनि वैदेशिक रोजगार ठगीकै कारण यही वैशाख १५ गते प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौको सामाखुसीमा रहेको युरो टेक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर समेत रहेका मनबहादुरले प्रेमबहादुर सुनारलाई वैदेशिक रोजगारीका लागि दुबई पठाउँछु भन्दै तीन लाख ५० हजार रुपैयाँ लिएर फरार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

मनबहादुरले प्रेमबहादुरलाई दुबईमा सेक्युरिटी गार्डको काम लगाई दिने र महिनामा ६० हजार रुपैयाँभन्दा माथि कमाइ हुने आश्वासन देखाएका थिए । 

यस्तै रोजगारीका लागि इटली र दक्षिण कोरिया पठाउँछु भन्दै २२ जनाबाट ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएर ठगी गरेको भन्दै प्रहरीले सुधन कुमार शाही र अनिल श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरूले पीडितलाई इटली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल पठाउने आश्वासन लिएर रकम लिएपछि फरार भएका थिए ।

वैदेशिक रोजगारीकै लागि अमेरिका, बेलायत, जर्मनी तथा जापान लगायतका देशहरूमा पठाउँछु भन्दै तीन करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले भक्तपुरको लोकन्थलीका उज्ज्वल खड्कालाई पक्राउ गरेको छ।

उनले २० जनाबाट यो रकम लिएको र रकम लिएपछि फरार रहेको प्रहरीले जनाएको छ ।

उजुरी फर्छ्याेट निकै कम

वैदेशिक रोजगारीसम्बन्धी उजुरी धेरै भएर मुद्दाको चाङ बढ्दै गएपछि  विभागमा प्रहरी नायव उपरीक्षक डीएसपीको कमाण्डमा प्रहरी टोली राखिएको छ ।  

तत्कालै ठगी भएको स्थानमा पुगेर ठगी गर्नेलाई पक्राउ गर्न र ठगीका घटनामा थप अनुसन्धान गर्न सजिलो होस् भनेर नै विभागमै प्रहरी टोली राखिएको हो ।

तर वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालका अनुसार २८ देखि ३० प्रतिशत उजुरी मात्र फर्छ्याेट हुने गरेका छन् । पीडकलाई  पक्राउ गरेर कानुनी प्रक्रियासहित अगाडि बढ्न समय लाग्ने र ठगीने क्रम निरन्तर बढीरहँदा फर्छ्याेटको प्रतिशत कम देखिएको उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया