‘छाप्रोबाट नयाँ भवन पाउँदा गाउँगाउँमा सिंहदरबार आए जस्तै भयो’

 बैशाख २६, २०८० मंगलबार १३:२३:४० | सुजता सुनुवार
unn.prixa.net

ललितपुर महानगरपालिकादेखि महाङ्काल गाउँपालिका पुग्न दुई वटा बाटा प्रयोगमा छन् । एउटा बाटो लेले–चन्दनपुर हो । जसको दूरी महानगरदेखि पालिकासम्म ४४ किलोमिटर छ । यस्तै अर्को बाटो अलि छोटो दूरीको छ । यो भने ३४ किलोमिटरको छ । ‘लेले–चन्दनपुर’ भने पञ्चायतकालमा केशर बहादुर विष्टको पालामा खनिएको हो । पिच पनि भयो । तर पिच बाटो लामो समयसम्म टिक्न सकेन । अहिले कच्ची जस्तै छ, केही ठाउँ पिच भएको हो कि जस्तो लागे पनि केही ठाउँ भने भर्खर खनिँदैछ भन्ने भान हुन्छ । यस्तो भान हुनुको कारण के हो भने बाटाको केही ठाउँहरु भत्किएका छन् । भत्किएका मात्रै होइन सडकका केही ठाउँमा खाल्डाखुल्डी पनि छन् । यस्ले गर्दा यात्रा गर्न सहज छैन । यसैगरी अर्को छोटो बाटो भने अहिलेसम्म पिच हुन सकेको छैन । यो बाटोमा यात्रा गर्न बानी परेकाहरु डेढ घण्टादेखि दुई घण्टाको यात्रामा ललितपुरको चापागाउँ आइपुग्छन् । बानी नपरेकाहरुलाई भने तीनदेखि साढे तीन घण्टा लाग्छ ।

ललितपुरदेखि चापागाउँदेखि महाङ्कालसम्मको यात्रा सहज बनाउन चार वटा ठूला गाडीहरु दैनिक ओहोरदोहोर गर्छन् । यी चार वटा गाडीमध्ये दुई वटा गोटीखेल र एक/एक वटा ठूला दुर्लुङ्ग र मानीखेल पुग्छन् भने चापागाउँबाट ललितपुरको सदरमुकाम पाटन तथा लगनखेल साथै जिल्ला प्रशासन कार्यालय मानभवन जानु परे फेरि अर्को गाडी चढ्नु पर्छ । गाउँवासीलाई आउजाउ गर्न सजिलो होस् भनेर बाटो कालोपत्रे गर्ने कार्यमा महाङ्काल गाउँपालिकाका जनप्रतिनिधिहरु अहोरात्र खटिएको बताउँछन् । तर दुःखको कुरा सुगम सपनाका शृङ्खला बुन्ने जनप्रतिनिधिहरुको भने बस्ने आफ्नै घर थिएन ।

छाप्रोदेखि सुविधा सम्पन्न भवनसम्म

गएको शुक्रवार २२ गते मात्रै बाग्मती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलले महाङ्काल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नु भएको छ । आफ्नो घरनजिकै सुविधा सम्पन्न गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन तामझामकासाथ उद्घाटन हुँदा गाउँपालिकावासी खुसीले गदगद भएका छन् । वडा नम्बर ६ ठूला दुर्लुङ्गका बाबुलाल श्रेष्ठ भन्नुहुन्छ, ‘छाप्रोबाट सेवा लिन्थ्यौँ, आज यति राम्रा भवन उद्घाटन हुँदा गाउँगाउँमा सिंहदरबार नै आयो भन्ने अनुभूति भएको छ ।’ खुशीका साथ उहाँ आफ्ना अपेक्षा सुनाउदै भन्नुहुन्छ, ‘गाउँपालिकाका दुई बाटा ‘लेले–चन्दनपुर’ र अर्को छोटो बाटो कालोपत्रे गर्ने कार्यमा विशेष ध्यान दिइयोस्, यी बाटा कालोपत्रे भए ललितपुरदेखि २ घण्टा गाडीको यात्रामा हेटाैँडा पुग्न सकिन्छ ।’

वडा नम्बर ३ जप्काकी निता घिमिरे पनि बाटो कालोपत्रे गरिदिन गाउँपालिकालाई आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाटो कालोपत्रे होस्, पशुपालन र तरकारी व्यवसाय गर्न सहज बन्दियोस् । अनि दूध बिक्रीमा उपयुक्त मूल्य पाइयोस् ।’ भवन बनेपछि ललितपुरको कर्णाली भनेर चिनिएको पालिकामा अब खुईखुई गर्दै टाढा पुगेर सेवा लिन नपर्ने भन्दै पालिकावासी खुशी भएका छन् । युवा विदेश पलायन हुनबाट रोकिदिए र जिल्ला प्रशासन कार्यालय मानभवनबाट पाइने सेवासुविधा पनि गाउँबाटै पाउने व्यवस्थासमेत भए आनन्द लाग्ने बताउँछन् पालिकावासी ।

गाउँपालिकाले सुरुको एक वर्ष तीन कोठे छाप्रोमा कार्यालय सञ्चालन गरेर पालिकावासीलाई सेवा दिएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिनु भयो । दोस्रो वर्षदेखि महाङ्काल माध्यमिक विद्यालयको भवन भाडामा लिएर सेवाग्राहीलाई सेवा दिँदै आएको पालिकाले अहिले भने आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।

आफ्नै भवन भएपछि वार्षिक रुपमा बुझाउँदै आएको पाँच लाख रुपैयाँ भाडा तिर्नबाट राहत महसुस गरेको छ पालिकाले । अलग्गै रहेर सेवा दिँदै आएको स्वास्थ्य र पशु शाखा पनि अहिले आफ्नै भवनको कोठामा समाहित भएको छ । शौचालयको सुविधासमेत नभएको भाडाको भवनमा सञ्चालित गाउँपालिकाको कार्यालयले सुविधा सम्पन्न शौचालय पनि पाएको छ । अनि एकै कोठामा तीन वटा शाखा अटाएर सेवा दिनुपर्ने समस्याबाटसमेत मुक्ति पाएको छ । २०७८ साउनबाट बनाउन सुरु गरिएको गाउँपालिकाको तीन तले भवनमा सात करोड रुपैयाँ लगानी भएको अध्यक्ष केसीले जानकारी दिनु भयो । निर्माणको जिम्मा ज्ञानज्योति विल्डर्स निर्माण कम्पनीले पाएको थियो ।

पहिलो प्राथमिकतामा सडक

महाङ्काल गाउँपालिकाले चालु आर्थिक वर्षमा स्थानीय सडकका लागि मात्रै पालिका र प्रदेश सरकारको गरी झण्डै १५ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । केही सडकमा काम भइरहेका छन् भने केहीमा सुरु हुन लागेको छ । ‘मध्यमार्गी’ सडकका लागि भने प्रदेश सरकारबाट आठ करोड रुपैयाँको टेण्डर परेको छ । अब तत्कालै काम सुरु गर्ने तयारीमा रहेको पालिका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिनु भयो । यस्तै ‘लेले–चन्दनपुर’ सडकका लागि भने भर्खरै मात्रै १८ करोड रुपैयाँको टेण्डर खुलेको छ । पालिका यसैमा लागि परिरहेको छ । पालिकाको पहिलो सर्त नै सुविधासम्पन्न सडक भएकाले आफ्नै  कार्यकालमा यी दुई सडक कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ अध्यक्ष केसी । उहाँ भन्नुहुन्छ, भ्रष्टाचाररहित र सुशासनसहितको सेवा दिने हाम्रो पहिलो प्रतिबद्धता हो, यसैले जनगुनासो नआउने गरी सर्वसुलभ सेवा दिने लक्ष्यसहित हामी दौडधुप गरिरहेका छौँ ।’

यस्तै पालिकाले शिक्षा प्रणालीमा पनि सुधार गर्ने गरी योजना बनाएको छ । यसै वर्षदेखि स्थानीय पाठ्यपुस्तक निर्माणमा पालिकाले गृहकार्य सुरु गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०७६ लाई टेकेर पालिकाको हावापानी, र माटोमा आधारित भइ कृषि, पशुपालन, पर्यटकीय क्षेत्र सुधार र स्थानीय सामग्रीको सदुपयोग गर्ने गरी सीपमूलक विषयवस्तु समेटेर पाठ्यपुस्तक तयार पार्ने गरी काम भइरहेको पालिकाले जनाएको छ । युवा विदेशिने काम रोकिनु पर्‍यो भन्ने पालिकावासीको गुनासो सम्बोधन गर्दै, उहाँले भन्नुभयो, ‘पढेपछि जागिर खोज्ने होइन कि पढेपछि स्वरोजगार बन्ने नागरिक तयार पार्नेछौँ । यसका लागि आउने शैक्षिक सत्रदेखि सीपमूलक स्थानीय पाठ्यक्रम लागू गर्छौँ ।’

९ महिनादेखि बन्द स्वास्थ्य ल्याब सञ्चालनमा

महाङ्काल गाउँपालिकाको गोटीखेल स्वास्थ्य चौकीमा बन्द भएको ल्याब सञ्चालनमा आएको छ । गएको साउनदेखि अस्थायी कर्मचारी हटाउने सरकारी नियम लागू भएसँगै ल्याबमा भएका प्राविधिक (टेक्निसियन) हटेपछि ल्याब बन्द भएको हो । स्वास्थ्य चौकीका अहेब/अधिकृत सीताराम बञ्जराका अनुसार, ९ महिनादेखि बन्द रहेको ल्याब सञ्चालन भएको दुई हप्ता भएको छ ।

स्वास्थ्यचौकीमा अहिले करारसहित ८ जना कर्मचारी कार्यरत छन् । जसमा नेपाल सरकारकोतर्फबाट ६ जना र दुई जना गाउँपालिकाका करार कर्मचारी छन् । अहिले स्वास्थ्य चौकीमा ३ जना त अहेब नै छन् । यस स्वास्थ्य चौकीमा गाउँपालिकाका मानीखेल, गोटीखेल भूखेल, कालेश्वर चन्दनपुर ठूला दुर्लुङ्गलगायतका सेवाग्राहीले सेवा लिइरहेका छन् । यो स्वास्थ्य चौकी २०४५ सालमा गाउँपालिकाको ठूला दुर्लुङ्गमा स्थापना भएको थियो । इलाका हेल्थपोष्ट, उपस्वास्थ्य चौकीमा विस्तार हुँदै अहिले भने गाउँपालिकाको वडा नम्बर ३ गोटीखेलमा स्वास्थ्य चौकीका रुपमा विस्तार भएर सञ्चालनमा छ । सुरुमा चार जनाको मात्रै दरबन्दी थियो । 

प्रदेशको ५० हजार रुपैयाँ आर्थिक सहयोग

स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने भन्दै हरेक वर्ष प्रदेश सरकारले चौकीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । गएको वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएको यो रकमले ल्याबका लागि चाहिने उपकरण, रासयन (केमिकल) र आवश्यकताका आधारमा औषधि किन्दै आएको स्वास्थ्य चौकीका अहेब/अधिकृत सीताराम बञ्जराले जानकारी दिनु भयो । उहाँका अनुसार यो रकम गाउँपालिकाको पहलमा उपलब्ध हुन थालेको हो । विस्तारै सेवा सुविधामा विस्तार गरिँदै लगे पनि विभिन्न समयमा देखा पर्ने महामारी नियन्त्रणमा भने समस्या छ ।

त्यस्तै थोरै जनशक्तिले धेरै सेवाग्राहीलाई सेवा दिनु पर्दा सर्वसुलभ सेवा दिन नसकेको स्वास्थ्य चौकीका अधिकृत बञ्जाराको भनाइ छ । कहिलेकाहीँ नेपाल सरकारले निःशुल्क दिदै आएको ९८ प्रकारका औषधि अभाव हुने र ल्याबका मेसिन बिग्रने समस्या भने कायमै छ । बाटोका समस्याका कारण बर्खाका समयमा नेपाल सरकारले निःशुल्क दिदै आएको औषधि नपाइएला कि भन्ने पीर भने अहिले पनि लाग्ने गरेको अधिकृत बञ्जरा बताउनु हुन्छ । गाउँपालिकाले खबर गर्नासाथ आवश्यक सामान र औषधि उपलब्ध गराउँदै आएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका सूचना अधिकारी पार्थमणी न्यौपानेले जानकारी दिनु भयो । यस्तै मेसिन बिग्रे/नबिग्रेकोबारे जानकारी लिन समेत गाउँपालिका पुगेको उहाँको दाबी छ । ‘यो वर्षको बर्खामा हामी नेपाल सरकारले दिँदै आएको निःशुल्क औषधि अभाव हुन दिने छैनौँ,’ उहाँले भन्नुुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • नविन कुमार बि.क

    May 11, 2023, 5:09 p.m.

    ल बधाई छ । जता ततै विकास भए न भन्ने मात्र खबर सुन‍्‍दा यो देख्दा खुशी लाग्यो। बधाई सबै लाई।

  •  0 Reply

तपाईको प्रतिक्रिया