ललितपुरको महाङ्काल पूर्ण खोप सुनिश्चित पालिका, बाँकी ५ वटालाई जेठसम्ममा घोषणा गरिसक्ने

 बैशाख ३१, २०८० आइतबार २०:३०:३६ | सुजता सुनुवार
unn.prixa.net

ललितपुर – ललितपुरकाे महाङ्काल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गएको बिहीवार एक कार्यक्रम गरेर महाङ्काललाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । छ वटा पालिका रहेकाे ललितपुरका बाँकी ५ वटा पालिकालाई पनि जेठभित्रै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी छ । बाग्मती र कोन्ज्योसोम गाउँपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको घरधुरी सर्वेक्षण सम्पन्न भएको र ललितपुर महानगरपालिकाको भने घरधुरी सर्वेक्षण अन्तिम चरणमा पुगेको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका खोप अधिकृत एवम् सूचना अधिकारी पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।

सरकारले यही वैशाखभित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसक्नुपर्ने भए पनि जनशक्ति अभावका कारण जेठसम्म लम्बिएको न्यौपानेको भनाइ छ । पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि खोप नलगाएका बालबालिका भेटिए झन् ठूलो चुनौती हुने भएकाले आफ्नो काम र इमानदारितालाई पूर्णरूपमा पालना गर्न आग्रह गरेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. अर्जुन सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनौतीको सामना गर्न नपरोस् भन्दै ललितपुरका ७१ वटा वडाका एक सय ८७ वटा खोप केन्द्रबाट दुई सय ८५ पटक खोप कार्यक्रम सञ्चालन गरिसकेका छाैँ ।’

यस्तै ललितपुरका नौ वटा अस्पताल, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३५ वटा स्वास्थ्य चौकी, २५ वटा आधारभूत स्वास्थ्य केन्द्र, १२ वटा सामुदायिक स्वास्थ्य इकाइ, १८ वटा बर्थिङ सेन्टर र ७९ वटा स्वास्थ्य संस्था गरी एक सय ८१ वटा संस्थाबाट खोप लगाउने काम भइरहेको छ । सरकारले सुरु गरेको 'बृहत् खोज र खोप अभियान' को आज अन्तिम दिन हो । 

महाङ्काल गाउँपालिकाले भने चैत २३ गते नै घरधुरी सर्वेक्षण सकेको थियो । यस पालिकामा खोप लगाउने उमेर समूहका दुई सय ५० जना बालबालिका छन् । यी सबै बालबालिकालाई खोप लगाइसकेकाे रिपोर्ट प्राप्त भएपछि प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ । 

वैशाखभरि घरधुरी सर्वेक्षण कार्यक्रम गर्दा समयमै पाउनुपर्ने खोप नपाएका छ जना बालबालिका भेटिएका महाङ्कालका स्वास्थ्य शाखा प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यी छमध्ये एक जनाले पूर्ण खोप नपाएको र बाँकी पाँच जनाले भने बीचको अवधिको खोप लगाउन नपाएको भेटिएको हो । यी बालबालिकालाई पालिकामा रहेका १७ वटा खोप केन्द्रबाट बाँकी रहेको खोप लगाएपछि पालिकालाई पूर्ण सुनिश्चित पालिका घोषणा गरिएको हो ।

घरधुरी सर्वेक्षणपछि पनि वडा कार्यालयबाट पुनः सहजीकरण गर्न आग्रह गरी खोप पाए/नपाएकोबारे पूर्ण जानकारी लिएकाले कुनै पनि बालबालिका नछुटेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले दाबी गर्नुभयो । 

बच्चा र आमाको सुरक्षा गर्न गाउँघर क्लिनिक प्रसूति कक्ष सञ्चालनमा

महाङ्काल गाउँपालिकामा नियमित खोप नछुटाउन र आमाको सुरक्षा गर्न चैतदेखि 'गाउँघर क्लिनिक प्रसूति कक्ष' सञ्चालन गरिएको छ । पालिकाको वडा नम्बर ६ ठूलादुर्लुङ्को कपीराममा कक्ष सञ्चालन गरिएको हो । पालिकामा रहेका खोप लगाउने उमेर समूहका दुई सय ५० बालबालिकामध्ये ४५ जना बालबालिका यसै वडाका हुन् । यस क्लिनिकबाट खोप लगाउने कामसँगै कक्षमा सहभागी भएका आमाहरूलाई खोप किन लगाउनुपर्छ, बाल मृत्युदरमा सरसफाइको भूमिका के रहन्छ, कम उमेरमा विवाह गर्दा के समस्या हुन्छ भन्ने कुराकाे बारेमा जनचेतना जगाउँदै आएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो ।

यस क्लिनिकको प्रसूति कक्ष भने बाग्मती आधारभूत विद्यालयको तीन कोठे भवनमा सञ्चालन गरिएको छ । यस कक्षमा ठूलादुर्लुङ्ग स्वास्थ्य चौकीकै कर्मचारीले सेवा दिँदै आएका छन् । चौकीमा दुई/दुई जना अनमी र अहेब, एक/एक जना हेल्थ र ल्याब असिस्टेन्ट रहेका छन् । आवश्यक परेमा पालिकाले विशेषज्ञ डाक्टर वडाको कक्षमा पठाउने गरेको छ । आमाको सुरक्षा गर्न र बाल मृत्युदर घटाउन पालिकास्तरबाटै कामको सुरुवात गरिएकाले सम्बन्धित निकायले सहयोग गर्न जरुरी रहेको शाखा प्रमुख भट्टराईले बताउनुभयो । 

घरधुरी सर्वेक्षण भए/नभएको जाँच्न 'स्टिकर' को व्यवस्था

जिल्ला स्वास्थ्य कार्यलय ललितपुरले घरधुरी सर्वेक्षण गरे/नगरेकोबारे जाँच गर्न 'स्टिकर' को व्यवस्था गरेको छ । स्वास्थ्यकर्मी पुगेका घरमा 'पूर्ण खोप सुनिश्चित घर' लेखिएको स्टिकर टाँस्न जिल्ला स्वास्थ्य कार्यालयले पालिकालाई स्टिकरसमेत वितरण गरेको छ । सात हजार प्रति छापिएको स्टिकर २०८० सालकाे सुरुदेखि नै वितरण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत न्यौपानेले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया