खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने

 जेठ ९, २०८० मंगलबार २०:३६:१९ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज मङ्गलवार काठमाण्डाैमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको दिइएको हो । 

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो । सम्मेलनका लागि मुख्यमन्त्री शाहकाे संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ । समितिअन्तर्गत १२  उपसमिति गठन गरिएका छन् । 

यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । सम्मेलनमा पूर्वप्रधानमन्त्री, मन्त्री, सङ्घीय संसद्का सांसद,  आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिनुभयो । 

खड्काका अनुसार समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद्का सांसद, प्रदेश सरकारका मन्त्री, सांसद, पूर्वसांसद, सुरक्षा निकाय, सुदूरपश्चिमका ८८ वटै पालिकाका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी, संस्कृतिकर्मी, कला तथा साहित्यकर्मी, निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिलगायत रहेका छन् । सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा छ । खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायत दृष्टिले महत्त्वपूर्ण रहेको  पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनदेखि खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने मुख्यमन्त्री शाह बताउनुहुन्छ । खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गर्नुभएको थियो । यस क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । यहाँ विभिन्न जडीबुटी पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको यस क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । 

आध्यात्मिक पर्यटनको प्रवर्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम देवभूमि र तपोभूमिका रुपमा सदियौँदेखि परिचित छ भन्ने सन्देश दिन यो सम्मेलन गर्न लागिएको हो ।’

सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था रहेको छ भने त्यहाँबाट पैदल खप्तड पुगिन्छ । झिग्रानासम्म सडक पुगेको भए पनि त्यसपछि झन्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया