नयाँ खिम्तीमा १ सय ३२ केभीको सबस्टेशन सञ्चालन, ३ जिल्लामा बिजुली आपूर्ति सुधार हुने

 असार १, २०८० शुक्रबार २०:३०:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) मा रहेकाे नयाँ खिम्ती सबस्टेशनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेशन पूर्वाधार सञ्चालनमा आएको छ ।

गर्ज्याङ–नयाँ खिम्ती १ सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीयरूपमा बिजुली आपूर्तिका लागि निर्माण गरिएको सबस्टेशन हिजाे बिहीवारदेखि सञ्चालनमा ल्याइएको हो । सबस्टेशनमा ३० एमभीए क्षमताका दुई वटा र ३३/११ केभी, ६/८ एभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर राखिएका छन् । स्थानीयरूपमा बिजुली आपूर्तिका लागि सबस्टेशनबाट ३३ केभीका पाँच र ११ केभीका तीन वटा फिडर लाइन निकालिएका छन् ।

कुल ३३ केभीका फिडरलाई बिहीवार चार्ज गरी मन्थली, दोरम्बा र दोलखाको केही भागमा बिजुली आपूर्ति सुरु गरिएको छ । त्यस्तै ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । याे सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ । 

दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशन निर्माण गरेको थियो । याे सबस्टेशनमा स्थानीयस्तरका लागि बिजुली आपूर्ति गर्ने कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेशन पूर्वाधार बनाएको हो । कुल १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेशनबाट स्थानीयस्तरमा बिजुली आपूर्ति सुरु भएको छ । नयाँ खिम्ती सबस्टेशनमा माथिल्लो तामाकोसीसहित खिम्ती र लिखु नदी काेरिडोरका जलविद्युत् आयोजनाको बिजुली जोडिएका छन् ।

यी आयोजनाहरूबाट नयाँ खिम्ती सबस्टेशनमा प्रवाह भएको बिजुलीलाई १३२/३३ केभी सबस्टेशनमार्फत ३३ र ११ केभीमा झारेर स्थानीयरूपमा आपूर्ति गरिएको छ । बाँकी बिजुलीलाई २ सय २० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र १ सय ३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेशनतर्फ प्रवाह गरिएको छ ।

कुल १३२/३३/११ केभी सबस्टेशन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहीँबाट बिजुली आपूर्ति भइरहेकाे छ । रामेछापको पूरै क्षेत्रमा तथा दोलखाको जिरी नगरपालिका, वैतेश्वर र तामाकोसी गाउँपालिकाका क्षेत्रमा नयाँ खिम्ती सबस्टेशनबाट बिजुली आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघु सबस्टेशनबाट बिजुली आपूर्ति हुँदै आएको थियो । साथै सिन्धुलीको सुनकोसी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सबस्टेशनबाट विद्युत् आपूर्ति दिइने छ ।

नयाँ खिम्ती सबस्टेशनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायत जिल्लामा बिजुली पर्याप्त, भरपर्दो र गुणस्तरीयरूपमा वितरण भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँका अनुसार नयाँ खिम्ती सबस्टेशनमा जोडिएका जलविद्युत् आयोजनाको बिजुली सिन्धुपाल्चोकको लामोसाँघु हुँदै काठमाण्डाै र धनुषाको ढल्केबरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारत निर्यात हुँदै आएको थियो । 

‘नयाँ खिम्तीमा स्थानीयरूपमा बिजुली आपूर्तिका लागि पूर्वाधार नहुँदा जिल्लाभित्रै ठूलो सबस्टेशन भएर पनि स्थानीय उपभोक्ताले बिजुली आपूर्ति नपाउँदा भरपर्दो र गुणस्तरीय बिजुली उपभोगबाट वञ्चित थिए’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

नयाँ खिम्तीबाट २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर पुगेको बिजुलीलाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो । 

‘लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि बिजुली आपूर्तिमा रहेका समस्याहरू समाधान हुने छन्, उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउने छन्’, उहाँले भन्नुभयो ।

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ झन्डै ८० किलोमिटर छ । लामो तथा जङ्गलैजङ्गलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या बेहाेर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट बिजुली आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घटेसँगै त्यस क्षेत्रको बिजुली आपूर्तिमा सुधार हुने, लाइन मर्मतमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताउनुभयो ।

सिन्धुलीको खुर्कोटमा रहेकाे सबस्टेशनसम्म नयाँ खिम्ती सबस्टेशनबाटै बिजुली आपूर्ति दिइने छ । खुर्कोट सबस्टेशनबाट बिजुली आपूर्ति हुने सिन्धुलीका सुनकोसी, गोलाञ्चोर र फिकल गाउँपालिकाको बिजुली आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेशनमार्फत आएको लाइनबाट बिजुली आपूर्ति हुँदै आएको छ ।  

नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेशन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको याे सबस्टेशनको लागत झन्डै ८० रुपैयाँ करोड रहेको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया