ताप्लेजुङको मेहेलेमा जता हेर्‍याे त्यतै पहिरो, झन्डै ३ सय परिवारलाई सुरक्षित ठाउँमा सारिँदै

 असार ५, २०८० मंगलबार ८:१४:१० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका झन्डै तीन सय परिवार विस्थापित  भएका छन् । उनीहरूलाई सुरक्षित ठाउँमा सारिँदै छ । 

मेहेले गाउँमा जताततै पहिराे गएकाे छ । पहिरोका कारण अहिलेसम्ममा यो गाउँमा तीन जनाको ज्यान गएको छ  भने तीन जना बेपत्ता छन् । 

मेहेलेको भालुखोप गाउँको सिरान देउरालीबाट आएको पहिरोमा परि एक जनाको ज्यान गएको छ भने तीन जना हराइरहका छन् । यो गाउँमा २५ घरका सबै विस्थापित भएका छन् । विस्थापित भएका उनीहरू माथिल्लो डाँडामा बसेका छन् ।

मुकुभञ्जाङ तथा गौरिगाउँ टोलका एक सय १० परिवारलाई निलगिरि माध्यमिक विद्यालयमा सारिएको छ । मुकुभञ्ज्याङमा माथिबाट ढिस्काे खसेर पहिरो बनेर आउँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।  

टेस्वा टोलका ६० र तोरीबारी टोलका ५० घरका परिवार सबैलाई माथिल्लो डाँडा र ताल खर्कमा सारिएको छ । तर सुरक्षित भनिएका ठाउँ नै पहिरोको जोखिममा छन् । भिरालो जमिन भएकाले ढिस्को भत्किएर पहिरो गइरहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चोम्जोङले बताउनुभयो ।

सिदिङ्वाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जताततै पहिरो भएकाले उद्धार तथा राहतमा समस्या भइरहेको बताउनुभयो । साना खोल्सा तथा खोलामा बाढी आएर तर्न नसक्ने अवस्था रहेकाे उहाँले बताउनुभयाे । बाढीले बाटो बगाएको छ भने मौसम खराब हुँदा उद्धार र राहतका लागि हेलिकप्टरसमेत पुग्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया