बहराइनमा कोमाको अवस्थामा उपचाररत दिनेशकुमारलाई बोर्डले ल्यायो स्वदेश, वीर अस्पतालमा थप उपचार हुँदै

 साउन ९, २०८० मंगलबार १३:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले बहराइनमा कोमाको अवस्थामा उपचाररत सुनसरीका दिनेश कुमार चौधरीलाई नेपाल ल्याएको छ ।

बहराइनको किङ हमाद युनिभर्सिटी अस्पतालमा कोमाको अवस्थामा उपचाररत चौधरीलाई परिवारको आग्रहमा नेपाल ल्याउन लाग्ने सबै खर्च पठाएर बोर्डले स्वदेश ल्याएको हो । 

बोर्डको कल्याण, पुनर्स्थापना तथा सञ्चार शाखाका शाखा अधिकृत नरबहादुर चन्दका अनुसार चौधरीलाई नेपाल ल्याउन गएको असार १२ गते ३२ सय १३ बहराइन दिनार अर्थात् ११ लाख १८ हजार ९५० रुपैयाँ पठाएको थियो ।

परिवारले दिएको निवेदन अनुसार बोर्डले बहराइनमा रहेको नेपाली दूतावाससँगको समन्वय चौधरीलाई नेपाल ल्याउन यो रकम पठाएको हो । 

‘परिवारले आफ्नो मानिस ल्याउन भनेर बोर्डमा निवेदन दिनुभयो, बहराइनमा रहेको नेपाली दूतावासबाट पनि निदेशकुमार चौधरीको उद्धारका लागि पत्र आएको थियो’ शाखा अधिकृत चन्दले भन्नुभयो ‘बोर्डले यहाँबाट रकम पठाएपछि उताबाट विशेषज्ञ चिकित्सकको टोलीसहितले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिएको हो ।’

दिनेशकुमारलाई गएको असार २९ गते कुवेत एयरवेजको उडानमार्फत स्ट्रेचर र अस्पतालका विशेषज्ञ डाक्टरसहित विमानस्थलसम्म ल्याइएको हो । दिनेशकुमारको थप उपचारका लागि बोर्डले नै वीर अस्पतालसँग समन्वय गरेपछि अस्पतालको टोली विमानस्थलसम्म लिन पुगेको थियो । 

सन् २०२२ मा श्रम स्वीकृति लिएर बहराइन जानुभएका दिनेश त्यहाँ आल्मुनियम सम्बन्धी काम गर्नुहुन्थ्यो । श्रीमती सरिता चौधरीका अनुसार दिनेशले घटना हुने दिन पनि काममा जानुअघि परिवारमा सम्पर्क गर्नुभएको थियो ।

‘ह्वाट्सएपमा म्यासेज गर्नुभएको थियो, म काममा आइपुगे भरे काम सकेपछि फोन गर्छु भन्नुभएको थियो’ श्रीमती सरिता भन्नुहुन्छ ‘बेलुका फोन नै आएन यताबाट गर्दा पनि लागेन, भोलिपल्ट मात्रै साउदीबाट उहाँको साथीहरूले अस्पतालमा छ भन्ने खबर गरे ।’

श्रीमती सरिताले पाएको जानकारी अनुसार दिनेशकुमार काम गर्दा गर्दै उच्च रक्तचापका कारण १७ मार्च २०२३ मा ढल्नुभएको थियो । त्यसपश्चात् कम्पनीले अस्पताल पुर्‍याएको थियो । तर त्यहाँ कोमाको अवस्थामा करिब चार महिना उपचार गर्दा पनि होस् नआएपछि अस्पतालको आग्रह र परिवारको चाहना अनुसार १४ जुलाई अर्थात् असार २९ गते नेपाल ल्याइएको हो । 

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी भएका र विभिन्न समस्यामा परेकाहरूलाई वैदेशिक रोजगार बोर्डले उद्धार गर्ने र राहत दिने काम गर्छ । वैदेशिक रोजगारीको क्रममा कोमाको अवस्थामा पुगेका नेपालीहरूलाई पनि बोर्डले विभिन्न समयमा उद्धार गर्दै आइरहेको छ । 

गएको आर्थिक वर्ष २०७९/०८० मा कोमाको अवस्थामा विदेशका अस्पतालमा उपचाररत तीन जना श्रमिकलाई रकम पठाएर नेपाल ल्याइएको बोर्डले जनाएको छ । 

साउदीमा कोमाको अवस्थामा उपचाररत रुपन्देहीकी बाटुली सुनारलाई स्वदेश ल्याउन बोर्डले चार लाख १० हजार ५२२ रुपैयाँ र साउदीमै कोमामा पुग्नुभएका धनकुटाका भक्तमणि रखाललाई स्वदेश ल्याउन दुई लाख ४१ हजार २४८ रुपैयाँ पठाएको बोर्डका शाखा अधिकृत चन्दले जानकारी दिनुभयो ।

‘जहाजमा स्ट्रेचरको सुविधासहित नेपाल ल्याउन लागत महँगो पर्न जान्छ, तर पनि परिवारहरूले मेरो मानिस ल्याउन प¥यो भनेर निवेदन दिएको खण्डमा बोर्डले दूतावाससँगको समन्वयमा नेपाल ल्याउन रकम पठाउने र यहाँ थप उपचारका लागि वीर अस्पतालसँग समन्वय गर्ने गरिरहेको छ’ शाखा अधिकृत चन्दले भन्नुभयो ।

नेपालमा उपचारका लागि पनि सहयोग

वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले कोमाको अवस्थामा पुगेका श्रमिकलाई स्वदेश ल्याउन र यहाँ उपचारको थप व्यवस्थाका लागि पनि बोर्डले आर्थिक सहयोग र समन्वय गर्ने गर्छ ।

पछिल्लो समय कोमाको अवस्थाका श्रमिकको नेपालमा थप उपचारका लागि बोर्डले वीर अस्पतालसँग समन्वय गर्ने गरेको छ । 

यस्तै, गम्भीर बिरामी वा अङ्गभङ्ग भएर स्वदेश फर्किएका श्रमिकलाई अवस्था हेरेर बोर्डले सात लाख रुपैयाँसम्म आर्थिक सहायतासमेत उपलब्ध गराउँछ । 

बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकको अवस्था अनुसार विशेषज्ञ डाक्टरहरूको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत अधिकतम सात लाख रुपैयाँसम्म पाउने व्यवस्था छ ।

कल्याणकारी कोषमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले जम्मा गरेको योगदान रकमको कोष हो । यो कोषमा श्रमिकहरूले नै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको प्रक्रियाको क्रममा १५ सय रुपैयाँ जम्मा गर्नुपर्छ । 

‘बोर्डले उपचारमा कति खर्च लाग्छ भन्दा पनि उहाँहरूको अवस्थाको आधारमा डाक्टरको टिमले गरेको सिफारिस अनुसार एकमुष्ट सात लाख रुपैयाँ श्रमिकलाई नै उपलब्ध गराउँछ’ शाखा अधिकृत चन्दले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया