ताप्लेजुङका व्यापारीले खाना पकाउने ग्यासकाे भाउ अझै घटाएनन्

 साउन २१, २०८० आइतबार १८:४२:११ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका व्यापारीहरूले खाना पकाउने एलपी ग्यासको भाउ अझै घटाएका छैनन् । सरकारले गएको असार ३१ र साउन १७ गते गरी दुई पटक ग्यासको मूल्य घटाए पनि यहाँका व्यापारीहरूले पूरानै भाउमा बिक्री गरिरहेका छन् ।

सरदरमुकाम फुङ्लिङ बजारका व्यापारीहरूले पुरानै भाउमा ग्यास बिक्री गर्दै आएपछि उपभोक्ताहरू मारमा परेका छन् । सरकारले दुई पटक ग्यासको मूल्य घटाए पनि व्यापारीहरूले नघटाउँदा आफूहरू मारमा परेको उनीहरूको गुनासो छ ।

फुङ्लिङ बजारमा स्थानीय व्यापारीले ग्यास पुरानै मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् । ग्यासको स्थानीय बजार मूल्य केन्द्रको भन्दा धेरै महँगाे छ । ढुवानी खर्चका आधारमा ग्यास महँगाेमा बिक्री गर्नुपर्ने अवस्था रहेको व्यापारीहरू बताउँछन् ।

सरकारले पछिल्लो पटक गएको मङ्गलवार ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ३० रुपैयाँले घटाएको छ । नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा ग्यास प्रतिसिलिन्डर एक हजार छ सय ६० रुपैयाँ कायम भएको छ ।

ग्यासकाे स्थानीय बजार मूल्य र बिक्री/वितरणको अवस्थाबारे जिल्ला बजार अनुगमन समिति भने बेखबर रहेको छ । समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै जानकारी नदिएको बताउनुभयो ।

तस्बिर : फुङलिङ बजारका एक बिक्रेताको पसलमा रहेको ग्यास सिलिन्डर ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया