एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा गयो १२ सय ८ नेपालीको ज्यान, झण्डै चार सय जना अङ्गभङ्ग वा बिरामी

 साउन ३२, २०८० बिहिबार १४:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको वर्ष १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९/०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् । 

यो तथ्याङ्क बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ ।

कतिपय श्रमिकको यही अवधिमा ज्यान गएको भए पनि श्रम अवधि सकिएको भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र त्यस्ता श्रमिकको मृत्युको तथ्याङ्क पनि राख्दैन । 

बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् ।

श्रम स्वीकृति लिएर गएका श्रमिकको श्रम अवधि भित्रै ज्यान गएमा बोर्डले मृतक श्रमिकका परिवारलाई सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्छ ।

यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ ।

बोर्डले बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ डाक्टरको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका २९ सय ५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायता समेत प्रदान गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया