चीनसँगकाे सीमा नाका बन्द हुँदा ओलाङचुङगाेला भन्सार कार्यालय ठप्प

 भदौ १, २०८० शुक्रबार १५:४३:४९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङ र चीनबीचको सीमा नाका लामो समयदेखि बन्द हुँदा ओलाङचुङगोला भन्सार कार्यालय ठप्प भएको छ । तिप्ताला भञ्ज्याङ नाका चीनले बन्द गर्दा ओलाङचुङगोला भन्सार कार्यालयले गएको चार वर्षदेखि राजस्व सङ्कलन गर्न सकेको छैन । कोरोनाको जोखिम बढेसँगै चीनतर्फको उत्तरी नाका बन्द भएपछि राजस्व सङ्कलन हुन नसेको हो ।

जिल्ला सदरमुकामबाट तीन दिनको पैदलयात्रापछि पुगिने फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोलामा भन्सार कार्यालय रहेको छ । यस नाकाबाट कोरोनाभन्दा अगाडि पनि धेरै राजस्व सङ्कलन भने हुने गरेको थिएन । आयात निर्यातको गतिविधि ठप्प भएपछि छ वर्षयता भन्सार कार्यालय लगभग निष्क्रिय रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय ताप्लेजुङले जनाएको छ ।

भन्सार प्रमुखको रूपमा एक नायब सुब्बा, एक खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि अहिले कर्मचारी नभएका निमित्त कोष नियन्त्रक दुर्गा थापाले बताउनुभयो । गएकाे चैतमा नासु हरिबहादुर खड्का भन्सार कार्यालयमा आनुभएको थियो तर उहाँ एक महिना नबित्दै सरुवा भएर जानुभएको थापाले जानकारी दिनुभयाे ।

ओलाङचुङगोला भन्सार भएको क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलसमेत खटाएको छ । ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बोर्ड आउट पोस्ट (बीओपी) समेत राखिएको छ । 
कोभिडको निहुँ बनाएर चीनले अहिलेसम्म नाका नखोल्दा फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले प्रधानमन्त्रीलाई भेटेर नाका खुलाउन पहल गरिदिन अनुरोध पत्रसमेत बुझाउनुभएकाे छ ।

नाका नखोलिँदा त्यस क्षेत्रमा उत्पादित घिउ, छुर्पी, गलैँचालगायतका घरेलु सामग्री तथा चौरी, याक निर्यात हुन नसक्दा आफूहरूलाई घर धान्न समस्या भएको स्थानीयवासीकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया