एक वर्षमा एक सय १२ परदेशीका परिवारले पाए बोर्डबाट स्वास्थ्य उपचार खर्च

 भदौ ४, २०८० सोमबार १७:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक वर्षमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका एक सय १२ परिवारका सदस्यले वैदेशिक रोजगार बोर्डमार्फत स्वास्थ्य उपचार खर्च पाएका छन् ।

वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले गएको आर्थिक वर्ष २०७९/०८० मा एक सय १२ परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो । 

वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन्स र अल्जाइमरजस्ता गम्भीर प्रकृतिको रोग लाग्दा पाइन्छ ।

यसका लागि सरकारले ‘कामदारका परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड, २०७३’ भनेर छुट्टै मापदण्डसमेत बनाएको छ । 

श्रमिक आफैँले पालनपोषणको जिम्मा लिएको पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला श्रमिकको हकमा सासू ससुरालेसमेत यस्तो सुविधा पाउँछन् ।

तत्काल शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपैयाँ पाइन्छ ।

मापदण्डअनुसार उपचार खर्च दाबी गर्न बोर्ड बोर्ड सचिवालयमा आवेदन दिन पर्छ । यसका लागि वैदेशिक रोजगारीमा रहेको आफ्नो मानिसको श्रम स्वीकृतिको प्रतिलिपि अनिवार्य गरिएको छ ।

यस्तै राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकताको प्रतिलिपि, श्रमिक र बिरामीबिचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग खुल्ने गरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिस पत्र समेत पेस गर्नुपर्ने बोर्डले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया