रकम अभावले शहीदको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

 भदौ ६, २०८० बुधबार ९:४४:१४ | नेत्र शाही
unn.prixa.net

 जुम्ला – कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरुले बिर्सन थालेका छन् । 

संघीय संरचना स्थापनार्थ बलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधीन पुस्तकालयको भवन रकम अभावमा अलपत्र परेको छ । 

शहीद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा ४० लाख रुपैयाँमा दुई किस्तामा पुस्तकालयको काम भएको छ ।

तर, पछिल्लो समयमा रकम व्यवस्थापन नहुँदा भवन निर्माण हुन नसकेको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘क्रमागत बजेट पनि के भयो थाहा भएन ।’

तातोपानी गाउँपालिका–७ साविक ताम्ति गाविस १ निवासी कुँवरको जन्मघर सर्मिमा निर्माणाधीन अवस्थामा रहेको पुस्तकालय अलपत्र अवस्थामा रहेको हो ।

अलपत्र शहीद हरिबहादुर बहुउद्देश्यीय स्मृति पुस्तकालयमा पहिलो तल्ला वाचनालय, दोस्रो तल्ला पुस्तकालय र तेस्रो तल्ला कार्यालय गरी बनाउने गरी डीपीआर तयार गरिएको थियो । जसको लागत एक करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । 

शहीदको सम्झनामा शुरु गरिएको पुस्तकालय भवनको विषयमा अहिले जनप्रतिनिधि, राजनीतिक दल कसैको पनि चासो रहेको छैन ।

कर्णाली प्रदेश सरकारले पनि यो विषयमा ध्यान दिएको छैन् । शहीद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुवँरका अनुसार हरिबहादुरको विषयमा परिवार र नजिकको शुभ चिन्तकले मात्रै नभइ राज्यले अपनत्व दिनुपर्ने  बताउनु हुन्छ । 

शालिक राख्ने ठाउँ पाइएन : 

स्वायत्त कर्णाली राज्यको माग गर्दै आन्दोलनमा गोली लागि निधन भएका हरिबहादुर कुँवरको शालिक गोली लागेको ठाउँमा राख्ने निर्णय भएको थियो । 

यसमा राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको बैठकलेसमेत शहीदकाे शालिक बजार नजिक गोली लागेको ठाउँमा राख्ने निर्णय गरेका थिए । 

तर जग्गा पाउन नसकेपछि कुँवरको शालिक निर्माण भए पनि शालिक भने काठमाण्डौमै थन्किएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय अगाडि शालिक राख्ने भने पनि पछि भने स्थान टुङ्गाे नलाग्दा शालिक राख्न सकिएको छैन ।

शहीद कुँवरका दाजु राजबहादुर कुँवरका अनुसार १३ लाख रुपैयाँको लागतमा काठमाण्डौमा शालिक बने पनि स्थान टुङ्गाे नलाग्दा सालिक त्यसै थन्किएको छ ।

प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शीर्ष राजनीतिक दलले शुरुवाती चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश हाे कर्णाली हो ।

जुम्लासहित माथिल्लो कर्णाली र सुर्खेतसहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछि चार जनाको बलिदानीले सरकारले सातौँ प्रदेश कर्णाली प्रदेशको घोषणा गर्‍याे । यही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भीर घाइते भइ भदौ ६ गते आजकै दिन उपचारको क्रममा काठमाण्डाैकाे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

सुर्खेतमा पनि चर्किएको आन्दोलनमा तीन जनाको ज्यान गएकाे थियो । सरकारले उनीहरुलाई पनि शहीद त घोषणा गरेको छ । तर शहीदकाे बलिदानीको उद्देश्य के हो भन्ने विषयमा ध्यान नदिएको शहीद कुँवरका दाजु राजबहादुर कुँवरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘शहीदको बलिदानीले कोही मन्त्री भए कोही सांसद भए तर यस विषयमा चासो भएन ।’

प्रदेश सांसद देवेन्द्रबहादुर शाही शहीदको सम्झनाका विषयमा के गर्नुपर्ने हो, त्यो विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनु हुन्छ । उहाँले भवन अलपत्र भएको विषय आफूलाई जानकारी नभएको बताउनुभयो।

नागरिक समाज जुम्लाका संयोजक तथा स्वायत्त कर्णाली प्रदेशमा घाइते हुनु भएका राजबहादुर महत भन्नुहुन्छ, ‘कर्णाली आन्दोनको मुख्य उद्देश्य जुम्ला राजधानी नै थियो । शहीदको बलिदानी पनि भयो, अहिले सम्मका जनप्रतिनिधिको कुनै चासो देखिएन, प्रदेशमा पनि, जिल्लामा पनि खासै चासो दिएको देखिँदैन। प्रदेश आन्दोलनको महत्व प्रदेशकै नेताहरुले बुझ्नुपर्छ । प्रदेशको राजधानीमा शालिक र जिल्लामा पनि  शालिक निर्माण गरिनुपर्ने छ। घाइतेहरुको सवालमा पनि सम्मान गर्न आवश्यक रहेको छ ।’ 

जुम्ला निवासी बुद्धिजीवि हरिहर न्याैपानेका अनुसार हरिबहादुरले दिएको बलिदानीको योगदान गर्दै प्रदेश सरकारलाई केही वर्षअघि बजेट क्रमागतमा राखेकाे थियो । तर के भयो थाहा नभएको र पूरा गर्न सबै लाग्नुपर्ने बताउनुहुन्छ ।

सरकारले हरिबहादुर कुँवरलाई २०७३ साल भदौ १ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया