वैदेशिक रोजगारीमा क्यानडा, क्रोएसिया, कुवेत र नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

 भदौ १०, २०८० आइतबार १८:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा क्यानडा, क्रोएसिया, कुवेत र नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महेश पौडेलसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासीको देवचुलीका समीर आले मगरलाई काठमाण्डौको टोखाबाट पक्राउ गरेको हो । समीरले महेशसहित दुई जनालाई क्यानडामा रोजगारीका लागि पठाउने भन्दै आश्वासन दिएर पाँच लाख ३५ हजार रुपैयाँ लिएका थिए ।

क्यानडा जान प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र उता पुगेपछि दुई लाख रुपैयाँभन्दा धेरै तलब मासिक रूपमा कमाइने आश्वासन समीरले दिएका थिए । तर पीडितबाट रकम लिएपछि समीर सम्पर्क विहीन भए । 

रकम लिएर समीर फरार भएपछि पीडित महेशसहित उहाँका साथीले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । 

यस्तै नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तारा गुरुङलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । पोखरा नगरपालिका ११ घर भई अहिले ललितपुरको नख्खीपोट बस्ने ताराले रविन चौधरीलाई वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिने र त्यहाँ एक लाख रुपैयाँ भन्दा धेरै महिनाको कमाइ हुने प्रलोभन देखाएर तीन लाख ४५ हजार रुपैयाँ रकम लिएकी थिइन ।

तर पैसा हात परेपछि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया गर्नुको साटो तारा फरार भएपछि रविनले वैदेशिक रोजगार विभागमा निवेदन दिनुभएको थियो । विभागले प्रहरीलाई अनुरोध गरेपछि आइतबार बिहान नख्खीपोटबाट तारालाई प्रहरीले पक्राउ गरेको हो ।

रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेर फरार भएकी रामेछापकी शर्मिला सुनुवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्रोएसियामा महिनाको एक लाख रुपैयाँभन्दा धेरै कमाइ हुने भन्दै लक्ष्मण हमालबाट दुई लाख रुपैयाँ लिएर फरार भएकी शर्मिलालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका १ घर भएकी उनलाई प्रहरीले कागेश्वरी मनोहरा ७ गोठाटारबाट शुक्रवार पक्राउ गरेको हो । शर्मिलाले लक्ष्मणलाई क्रोएसियामा फुड प्याकिङको काम लगाइदिने बताएकी थिइन । 

यसका साथै कुवेतमा बाइक राइडरको काम लगाइदिन्छु भन्दै झण्डै दुई लाख रुपैयाँ ठगी गर्ने सल्यानका जगतबहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । सल्यानको कपुरकोट गाउँपालिका ३ घर भई अहिले भक्तपुरको सुर्यबिनायक नगरपालिका १ बस्ने ५१ वर्षका जगतबहादुरले दिलीप विष्टलाई कुवेत रोजगारीमा महिनाको ५० हजारभन्दा धेरै कमाइ हुने र त्यसका लागि दुई लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी दुई लाख ९४ हजार रुपैयाँ लिएका थिए । तर पैसा हात परेपछि जगतबहादुर फरार भए ।

त्यसपछि दिलीपले काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागमा निवेदन दिनुभएको थियो । दिलीपको निवेदनको आधारमा विभागले फरार रहेका जगतबहादुरलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो । 

पछिल्लो समय विभिन्न देशमा रोजगारीको प्रलोभन देखाएर व्यक्तिगत रूपमा एजेण्टबाट हुने यस्तो ठगी बढेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया