पाथीभरामा ४६ देशका मुद्रा भेटिए

 भदौ १०, २०८० आइतबार २०:७:११ | केशवप्रसाद भट्टराई
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

ताप्लेजुङ – ताप्लेजुङकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४६ देशका मुद्रा भेटिएका छन् । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीहरूले चढाएका ४६ देशका मुद्रा भेटिएका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिले आज आइतवार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७९/८० को आय–व्यय विवरण सार्वजनिक गर्दै याे जानकारी दिएकाे हाे । समितिका निर्देशक मनमणि काफ्लेका अनुसार अमेरिका डलर तीन हजार तीन सय १९ र कतार रियल तीन हजार नाै सय ५२ रहेकाे छ । सबैभन्दा थोरै रोमानियाको मुद्रा एक रोमानिया लिउ मात्र रहेको निर्देशक काफ्लेले बताउनुभयो ।

त्यसैगरी साउदी अरब, मलेसिया, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, बहराइन, चीन, जापान, मालदिभ्स लगायतका मुद्रा पनि पाथीभरामा चढेकाे छ । सङ्कलित मुद्रामध्ये केही धेरै रङ लागेर रातो भएका र केही च्यातिएका भेटिएका छन् । ती मुद्राहरू सटही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ ।

सम्मेलनमा आर्थिक वर्ष २०७९/८० मा आठ करोड ५९ लाख ९७ हजार एक सय ९४ रुपैयाँको कारोबार भएको बताइएको छ । कारोबार रकममध्ये गएकाे वर्षको साउनदेखि असार मसान्तसम्ममा तीर्थयात्रीहरूले चढाएको भेटीबाट तीन करोड चार लाख ६२ हजार तीन सय ९७ रुपैयाँ जम्मा भएको थियो भने दाताबाट सिधै पाथीभरा मन्दिरको बैंक खातामा १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ जम्मा भएकाे पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।

त्यसैगरी अघिल्लो वर्षको मौज्दात पाँच करोड तीन लाख १८ हजार चार सय ८५ रुपैयाँ रहेको पनि सार्वजनिक गरिएको छ । यस्तै व्ययतर्फ कर्मचारीलाई तलबमा (ज्यालादारीसहित) ५७ लाख ५४ हजार, फोहर व्यवस्थापनमा ८७ हजार र अन्यमा गरी ७१ लाख ८६ हजार रुपैयाँ खर्च भएको समितिले पत्रकार सम्मलेनमा जानकारी गराएकाे छ ।

समितिले आर्थिक वर्ष २०७९/८० मा दुई लाख एक हजार चार सय ४८ जनाले पाथीभराको दर्शन गरेको विवरण सार्वजनिक गरेकाे छ । अघिल्लाे आर्थिक वर्ष २०७८/७९ मा दुई लाख १४ हजार जनाले पाथीभराकाे दर्शन गरेका थिए । यस वर्ष अधिकमास परेकाे तीर्थयात्रीहरूकाे सङ्ख्या केही घटेकाे समितिले जनाएकाे छ ।

पाथीभरामा आएका तीर्थयात्रीबाट उठेको रकम यही क्षेत्रको विकासका लागि खर्चिने योजना रहेको पत्रकार सम्मेलनमा बताइएको छ । पाथीभराकाे माथिल्लो फेदीबाट तीर्थयात्रीहरू हिँड्ने बाटोमा फाइबर ट्रस्ट बनाउनका लागि तीन करोड रुपैयाँको ठेक्का खुलाई काम लगाउने समितिका अध्यक्ष थेबेले बताउनुभयो । त्यसैगरी पाथीभरा मन्दिरका पाटी तथा विभिन्न घरको छानाबाट आएको पानी सङ्कलन गर्न ट्याङ्की निर्माण तथा भएका पानी ट्याङ्कीहरूलाई तारबार गर्ने लगायतका कामका लागि ७२ लाख रुपैयाँ खर्च गरिने जनाइएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया