नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित : ग्लोबल टी–२० छनोटमा पुग्न असफल

 भदौ २२, २०८० शुक्रबार १०:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ ।

सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।

नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए ।

आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ ।

प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया