राजनीतिमा ‘सुवास’ छरेर अस्ताउनुभयाे नेम्वाङ

 भदौ २६, २०८० मंगलबार ८:३४:५२ | रासस
unn.prixa.net

इलाम - इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमानदार छवि बनाउनुभएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ हुनुहुन्थ्यो ।  इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिनुभएको थियो  ।

विसं २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो । 

विसं २०५६ को संसदीय निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो ।  उहाँ जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख हुनुभएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ चारपटक सभामुख हुँदा उहाँ सधैँ सर्वसम्मत नै बन्नुभयो ।

नेम्वाङको निधनले इलाम शोकमग्न 

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोर्नुपरेको धेरैको भनाइ छ ।

इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताउनुभयो । नेम्वाङले देश र नागरिकका लागि पुर्याउनुभएको योगदान अतुलनीय हुने बताउँदै उहाँले  देशले नै शोक मनाइरहेको बताउनुभएको छ ।

गएकाे आमचुनावमा  नेम्वाङसँग थोरै मतान्तरले पराजित हुनुभएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले सधैँ सम्झिरहने बताउनुभयो । 'पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ', उहाँले भन्नुभयो, 'इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।'

'उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो', नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, 'उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।'

राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भन्नुभयो, 'म धेरै राजनीति त जान्दिनँ तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।'

नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताउनुभएको छ । 'कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो', उहाँले भन्नुभयो, 'उहाँको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।'

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, 'उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।'

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया