आज देशभरको मौसम सामान्यतया सफा रहने, चिसो बढ्यो
पुस ११, २०८१ बिहिबार
कास्की – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई आज बुधवार पोखरामा सम्बोधन गर्दै उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताउनुभयो ।
‘कांग्रेस सबैको हित चाहने पार्टी हो, कांग्रेस आमनागरिकको सुख दुःखमा साथ दिने पार्टी नै हो’, उहाँले भन्नुभयो, ‘नागरिकको भर विश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पिपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।’
मिसन २०८४ मा पनि कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उहाँले आग्रह गर्र्नुभयो । ‘नेपाली कांग्रेस सीमित व्यक्ति मात्र नभई सबै नागरिक धनी भएको देख्न चाहन्छ, महामानव बीपीको सिद्धान्त पनि नागरिक धनी हुन् भन्ने नै थियो’, उहाँले भन्नुभयो ।
कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उहाँले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको बताउनुभयो । कांग्रेसले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले कांग्रेसभन्दा क्रान्तिकारी पार्टी अरू कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘नेपाली कांग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न चाहन्छ, सानो देश उनीहरूसँग विवाद गर्न चाहँदैन र गर्न पनि सक्दैन’, उहाँले भन्नुभयो, ‘नेपाल जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा छ ।’
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले बीपीको सिद्धान्तलाई अँगाल्दै कांग्रेस अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने उहाँको भनाइ थियो ।
कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले नेपाली कांग्रेसका हरेक कार्यकर्ताले देशमा भएका उपलब्धिको प्रचारप्रसार गरी कांग्रेसप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।