खेलाडीलाई प्रधानमन्त्रीको आग्रह– ‘सरकारले घोषणा गरेको पुरस्कार रकम पाइँदैन कि भन्ने चिन्ता नलिनुस्’

 भदौ २८, २०८० बिहीबार १८:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताउनुभएको छ ।

आज बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औँ एसियाली खेलकुदका लागि भाग लिन चीन जाने नेपाली खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक कारण र नीतिगत कारणले दिन नसकिएको उल्लेख गर्नुभयाे । अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने प्रधानमन्त्रीकाे भनाइ थियाे ।

सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिन प्रचण्डले खेलाडीसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा मलाई जानकारी छ । केही प्राविधधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएकोमा म दुःख व्यक्त गर्न चाहन्छु । मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासामा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ । अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भई आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ । सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेपछि हुँदैन कि भन्ने टेन्सन नलिनु होला ।’

खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै उहाँले आधुनिक सुविधा सम्पन्न रङ्गशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलका निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । एसियाली खेलकुद हेर्न आफू उद्घाटन सत्रमा भाग लिने भन्दै प्रधानमन्त्री प्रचण्डले त्याे क्षण आफ्ना लागि गौरवको विषय हुने बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया