ताप्लेजुङको घुन्सा र फलेमा पहिलो पटक रोपेको स्याउ फल्न थाल्यो

 असोज ३, २०८० बुधबार १६:३३:१८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको हिमाली गाउँ घुन्सा र फलेमा स्याउ फल्न थालेको छ । पहिलो पटक स्याउ रोपेको गाउँमा यस वर्षदेखि फल्न थालेको हो ।

तीन हजार चार सय मिटर उचाइमा रहेको घुन्सामा रोपेको स्याउ छ महिनामै फल्न थालेको फक्ताङलुङ गाउँपालिका ६ का वडाध्यक्ष पेमाटाँसी शेर्पाले बताउनुभयो । त्यहाँ परीक्षणका लागि २० वटा बिरुवा रोपिएका छन् । अब स्याउ खेती विस्तार गर्ने वडाध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै फलेमा पनि स्याउ फल्न थालेकाे छ ।

दिगो पर्यावरणीय कृषिअन्तर्गत स्विट्जरल्यान्डकाे प्राविधिक सहयोग तथा पुतली सहयोग योजनाको आर्थिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा परीक्षणका लागि रोपिएको स्याउ फल्न थालेकाे हाे । अहिले फुजी, गोल्डेन डेलिसियस प्रजातिका स्याउका बिरुवा राेपिएकाे छ ।

ताप्लेजुङमा अहिलेसम्म व्यावसायिक रूपमा स्याउ खेती गरिएको छैन । अब घुन्सामा फलेको स्याउको गुणस्तर परीक्षण गरी व्यावसायिक खेती शुरु गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

तस्बिर : घुन्सामा स्याउ फलेको । मिङ्माडण्डु शेर्पाको फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया