निजी विद्यालयका छात्राले वडाध्यक्षलाई साेधे– ‘निःशुल्क सेनेटरी प्याड हामीलाई खै ?’

 असोज १२, २०८० शुक्रबार १६:३६:२८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रीन इङ्ग्लिस बोर्डिङ स्कुलमा जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत एक सय ३० जना विद्यार्थीकाे सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले वडाध्यक्षसँग अन्तरक्रियासमेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो । जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रममा सन्धिखर्क वडा नम्बर २ का अध्यक्ष मोतिजंग रायमाझीले वडा कार्यालयबाट हुने सेवा प्रवाह र शिक्षा नीतिका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो ।

छात्राहरूका लागि सरकारले निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भने पनि आफूहरूलाई किन वडा तथा नगरपालिकाबाट उपलब्ध नभएको भनी छात्राहरूले वडाध्यक्ष रायमाझीलाई प्रश्न गरेका थिए । उनीहरूले छात्रवृत्ति तथा अन्य कार्यक्रमहरूमा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई किन समावेश नगराएकाे भनेर साेधे ।

जवाफमा वडाध्यक्ष रायमाझीले सेनेटरी प्याड छात्राहरूले निःशुल्क पाउनुपर्ने सरकारको नीति भए पनि निजी विद्यालयमा नआएकोबारे आफूले नगरसभामा कुरा उठाउने बताउनुभयाे । उहाँले जबरजस्ती करणी र महिला हिंसाका घटना न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा भौतिक तथा अन्य विकासमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया