भूकम्प प्रभावित खुला चौरमा, आश्वासन मात्रै दिएर फर्किए प्रधानमन्त्री र मन्त्रीहरु

 असोज २०, २०८० शनिबार ७:३५:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आउनु भएकाे छ ।

आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उहाँ बेलाबेला भारत पनि जाने गर्नुहुन्छ । भारतका विभिन्न सहरमा मजदुरी गरेर छोराछोरीलाई पढाइ र घरायसी खर्चकाे जोहो गर्दैगर्दा अघिल्लो वर्ष कात्तिकमा गाउँमा भूकम्प गयो र उहाँको घर चर्कियो ।

त्यसपछि उहाँ घर फर्कनुुभयो र चर्किएको घर टालटुल गरेर बस्न थाल्नुुभयो । अघिल्लो वर्षको भूकम्पको पीडा बिर्सन नपाउँदै गएको मङ्गलवारको ठूलो भूकम्पले उहाँको घर भत्कियो । अहिले उहाँसहित ४ छोराछोरी श्रीमतीको त्रिपालमुनिको बास भएको छ ।

लुहारले भन्नुभयो, ‘गाउँ–गाउँबाट आरनको काम गरेर जम्मा गरेको अन्नपानी (खाद्यान्न), लत्ताकपडा घर भित्रै च्यापियो । अहिले एक छाकको जोहो गर्न पनि धौ–धौ छ । बाहिर खुल्ला आकाश मुनिको बास छ । छोराछोरीको चिन्ता एकतर्फ छ भने रातिको समयमा के बिच्छ्याउने ? के ओढ्ने ? साह्रै समस्या भएको छ ।’ अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ ।

थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उहाँको पनि खुल्ला आकाश मुनिको बास छ । उहाँलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उहाँका ससुरा नरबहादुर थापा भन्नुहुन्छ, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’ बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको उहाँले बताउनुभयो ।

थलारा गाउँपालिका–९ आमबरकी एकल महिला मुलुदेवी दमाईको पनि उस्तै समस्या छ । भएको सानो झुपडी भूकम्पले भत्काएपछि उहाँलाई कसरी रात बिताउने भन्ने चिन्ताले पिरोलेको छ । 'घरमा कोही पनि छैन । सम्पत्तिको नाममा एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा सङ्कलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफूले पाए तत्काललाई ठूलो राहत हुन्थ्यो’ उहाँले भन्नुभयो ।

यस्तै सिरेटाका हिरा शार्कीको पनि अवस्था उस्तै छ । उहाँको घरमा उहाँसहित श्रीमती र तीनजना छोराछोरी छन् । भारतका विभिन्न सहरमा मजदुरी गरेर जीविका चलाउँदै आएका हिरा घर आएको ५ महिना मात्रै भयो । भूकम्पले घर पूरै भत्काएपछि उहाँसहित छिमेकीहरु खुला चौरमा बस्न बाध्य छन् ।

उहाँ भन्नुहुन्छ, ‘छोरी १४/१५ वर्षकी भइन् । शौच गर्नका लागि शौचालय पनि भत्किएको छ । खुला ठाउँमा रातिको समयमा डर हुन्छ । हामी पुरुषभन्दा पनि मेरो छोरी जस्तै अरुका छोरीबुहारीलाई बढी समस्या छ ।’ भूकम्पपछि एकरात पनि राम्रोसँग सुत्न नपाएको उहाँले गुनासो गर्नुभयो ।

शुक्रवार प्रधानमन्त्रीसहित मन्त्रीहरु आए पनि राहत नआएको पीडितहरुको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुका समस्या राख्न चाहे पनि नपाएको पीडितहरुको भनाइ छ । पीडितहरुका अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेर फर्किएका छन् । 

थलारा वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्रबहादुर विष्टका अनुसार गाउँमा १ सय ३० वटा घर पूर्णरुपमा भत्किएको छ । २ सय ७५ वटा घर उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेन्द्र चौधरीले भूकम्पबाट सबैभन्दा धेरै क्षति थलारा गाउँपालिकामा भएको बताउनुभयो । उहाँका अनुसार थलारा गाउँपालिकामा ६७ वटा घर भत्केको र १२ वटा घर चर्किएको छ ।

यस्तै, जयपृथ्वी नगरपालिकामा २९ वटा घर भत्किएको र ४८ वटा घर चर्किएको छ । बुङ्गल नगरपालिकामा २ वटा घर भत्किएको छ भने २ वटा घर चर्किएको छ ।

यस्तै, विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छ । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा ४ वटा घर भत्किएको छ । छविसपाथिभेरामा ७ वटा घर भत्किएको र ४० वटा घर चर्किएको छ । खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएको छ भने ४० वटा घर चर्किएको छ । मष्टामा ३ वटा घरमा पूर्ण क्षति, ५ वटा घर भत्किएको र एउटा घर चर्किएको छ भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्किएको र ३ वटा घर चर्किएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया