कालीकाेटकाे सान्नीत्रिवेणीमा खुला प्रतिस्पर्धाबाट विद्यालय प्रधानाध्यापक छनाेट

 असोज २५, २०८० बिहिबार १२:५३:२१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटकाे  सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक छनाेट गर्न शुरु गरेकाे छ । सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यस गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनाेट गर्न थालेकाे हाे । सान्नीत्रिवेणी यसरी प्रधानाध्यापक छनाेट गर्ने पहिलाे गाउँपालिका बनेकाे छ । 

यसअघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था थियो । प्रधानाध्यापक  र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप गर्नेे परिपाटीको अन्त्य गर्न सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धा गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनु भयो ।

सिकाइ र सुझावका आधारमा प्रस्तावित शिक्षा ऐनमा सङ्घीय सरकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न पालिकालाई प्रोत्साहित गर्ने व्यवस्था गरेको छ । सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो ।

खस्किँदै गएको शैक्षिक गुणस्तर र सामुदायिक विद्यालयको व्यवस्थापनका लागि पालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । यसरी प्रधानाध्यापक चयन गरेपछि सामुदायिक विद्यालयको सिकाइ उपलब्धि र सामुदायिक विद्यालयको व्यवस्थापनमा सुधार आउने सान्नीत्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहनवीर धामीले बताउनु भयो ।

सान्नीत्रिवेणी गाउँपालिकाले बनाएको शिक्षा ऐनअनुसार विद्यालय शिक्षा सुधारका लागि प्रधानाध्यापक परीक्षा प्रणालीबाट चयन गर्ने नीति लिएको छ । प्रधानाध्यापक छनोटका लागि गरिएको विज्ञापनमा ३४ जना शिक्षकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २७ जना परीक्षामा सामेल भएका थिए । परीक्षा दिएकामध्ये ५ जना माध्यमिक तह र ६ जना आधारभूत तहमा छनाेट भएका छन् । 

प्रधानाध्यापकका लागि योग्यता, अनुभव, विद्यालय विकास प्रस्ताव, लिखित र मौखिकमा उत्तीर्ण भएको लगायत विषयलाई आधार मानेर जिल्ला शिक्षा समन्वय इकाई प्रमुखको सहभागितामा परीक्षा लिइएको हो । गाउँपालिका भित्रका मावि र आधारभूत गरी ३० विद्यालयका प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट चयन हुने भएका छन् ।

प्रधानाध्यापक हुनलाई राहत र स्थायीमा कार्यरत भएको, कार्यसम्पादन र लिखित मौखिक अन्तर्वार्तामा सफल भएको व्यक्ति हुने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया