विद्युत् 'हब' बन्दै ताप्लेजुङ, २ हजार मेगावाट बिजुली उत्पादनका लागि २५ वटा योजना निर्माणका क्रममा

 असोज २९, २०८० सोमबार २०:३९:४१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

सानिमा जलविद्यु्त् आयाेजना

ताप्लेजुङ – बिजुली उत्पादनमा कोशी अन्य प्रदेशको तुलनामा अघि छ । सगरमाथा, मकालु, कञ्जनजङ्घाजस्ता उच्च हिमाशिखरबाट शुरु भई बाह्रै महिना बग्ने सप्तकोसी र त्यसका सहायक नदीहरू– अरुण, तमोर, दूधकोसी, भोटेकोसी, सुनकोसी यसै प्रदेशमा भएकाले पनि यहाँ बिजुली उत्पादनको सम्भावना बढी छ । बिजुली उत्पादनको गुणस्तरको दृष्टिकोणले पनि यी नदीको ‘रन अफ रिभर’ क्षमता उच्च रहेको छ ।

ताप्लेजुङमा बिजुली उत्पादनका लागि २५ वटा योजना शुरु भएका छन् भने केही योजना अनुमति लिएर बसेका छन् । झन्डै २ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि विभिन्न आयोजनाले काम शुरु गरेका छन् । यस्तै केही आयोजना बिजुली उत्पादनको अन्तिम तयारीमा छन् ।

हिमाली जिल्ला ताप्लेजुङ विद्युत् ‘हब’ नै बनेको छ । ताप्लेजुङको इवाखोलाबाट ९ दशमलव ९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली खोलाबाट ३५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

ताप्लेजुङ जिल्लाभित्र तमोर नदीबाट मात्र ५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । फक्ताङलुङ गाउँपालिका–१ साँवादिनको पुछार र मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको पुछारमा तमोर नदीमा बनेको ७३ मेगावाट क्षमताको सानिमा मिडिल तमोर जलविद्युत् आयोजना सञ्चालनमा आउने अन्तिम तयारीमा छ । अबको ४ महिनाभित्रमा आयोजना सञ्चालनमा आउने सानिमा हाइड्रोपावर कम्पनीका मेनेजर मणिराज पोख्रेलले बताउनुभयो ।

जिल्लाका २५ वटा योजनामध्ये सबैभन्दा ठूलो २ सय ८५ मेगावाटको ‘अपर तमोर ५’ निर्माणको काम शुरु भएको छ । तमोर नदीबाट नै १ सय २८ मेगावाटको तमोर मेवा आयोजना निर्माणको प्रक्रियामा रहेको छ । यस्तै ३७ दशमलव ५ मेगावाटको तमोर खोला जलविद्युत् आयोजनाको काम पनि भइरहेको छ । तमोर खोलामा नै १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाको पहिलो चरणको काम शुरु भएको छ ।

ताप्लेजुङको दोस्रो ठूलो खोला काबेलीमा पाँच वटा आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । त्यसमध्ये १३ दशमलव ५ मेगावाटको सुपर काबेली, १२ मेगावाटको सुपर काबेली क्यास्केट र २१ दशमलव ९३ मेगावाटको काबेली–३ को काम भइरहेको छ । यी ३ वटै आयोजनाको झन्डै ३५ प्रतिशत काम सकिएको यी आयोजना हेरिरहनुभएका राजेन्द्रराज भारतीले बताउनुभयो । यस्तै ३७ दशमलव ६० मेगावाटको काबेली ‘ए’, १५ मेगावाटको ‘अपर काबेली–२’ को काम पनि भइरहेको छ ।

मिक्वा गाउँपालिकामा रहेको मेवाखोलामाथि बनिरहेको मेवा जलविद्युत् आयोजनाको काम ५० प्रतिशत सकिएको मेवा डेभलपर्स हाइड्रोपावर कम्पनीका प्रशासन तथा जनसम्पर्क प्रमुख सुमनप्रसाद रेग्मीले जानकारी दिनुभयो । शुरुमा ४९ मेगावाट क्षमता रहेको आयोजना अहिले २४ मेगावट थपिएर ७३ दशमलव ५ मेगावाट बिजुली उत्पादन हुने निश्चित भएको रेग्मीले बताउनुभयो । यसको लागत झन्डै २१ अर्ब रुपैयाँ रहेको उहाँको भनाइ छ ।

मेवाखोलामा बनिरहेको ५० मेगावाटको ‘युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाको काम झन्डै ५० प्रतिशत सकिएको छ ।

यस्तै १७ दशमलव ८५ मेगावाटको ‘अपर मैवाखोला’, ९ दशमलव ७ मेगावाटको ‘अपर इवाखोला, २३ मेगावाटको मेवाखोला, ९ मेगावाटको सोनाखोला, २८ मेगावाटको माथिल्लो काबेली, ७७ दशमलव ५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । ७० दशमलव ३ मेगावाटको सिम्बुवाखोला, ३० मेगावाटको पालुङखोला–१, २१ मेगावाटको पालुङखोला सानो, ९ दशमलव ३ मेगावाटको सिवाखोला, ३१ दशमलव ९२ मेगावाटको आयोजना पनि निर्माणको प्रक्रियामा रहेका छन् ।

केन्द्रीय विद्युत् विभाग प्रमुख चिरञ्जीवी चटोतले निर्माणको प्रक्रियामा रहेका आयोजनाले अनुमति लिएअनुसार समयावधिमा नै सक्ने गरी काम गरिरहेका बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया