पद्मरत्नको “सूर्य” उदाएका बेला

 कात्तिक १९, २०७५ सोमबार ८:४६:१४ | कुमार रञ्जित
unn.prixa.net

काठमाडाैं – साहित्यकार र पत्रकार हुँदै स्पष्ट वक्ता र जनपक्षीय छवि बनाएका पद्मरत्न तुलाधरको इमान्दारितामा कुनै शंका नै गर्नै नसकिने अवस्था थियो, २०४३–०४४ सालका दिनहरुमा । पद्मरत्नका भाषणबाट प्रभावित भएर रातारात “बामपन्थी” भएका युवाहरुको जमात् यत्रतत्र भेटिन्थ्यो, काठमाडौंमा गल्ली–गल्लीमा । पद्मरत्नको पर्याय बनेको “सूर्य” उदाएको बेला थियो त्यो । 

“म कांग्रेस पनि होइन, कम्युनिष्ट पनि होइन, निरंकुश पञ्चायती व्यवस्था विरोध नै मेरो उम्मेदवारीको प्रमुख उद्देश्य हो” भनेर अभिव्यक्ति दिएपछि पद्मरत्नलाई मत दिने पक्षमा काठमाडौंका प्रतिबन्धित नेपाली कांग्रेससित आवद्ध कतिपय “प्रजातान्त्रिक समाजवाद” का पक्षधरहरु पनि खुलेका थिए । यस्तो अवस्थामा परम्परागत पात्र जोगमेहर श्रेष्ठ र व्यंग्यपूर्ण पात्र नानीमैया दाहालहरुले प्रतिनिधित्व गरिरहेको पञ्चायती व्यवस्थाको उतरार्ध को राजनीतिक माहोलमा पद्मरत्न नौलो, प्रगतिशील अगुवा तथा परिवर्तनका संवाहक बनेर उदाउनुभएको थियो । 

पद्मरत्नको निर्वाचन चिन्ह “सूर्य” ब्राण्डका नयाँखाले मैन सलाई भर्खरै बजारमा आएको थियो । परिवर्तन चाहने युवाहरु खल्तीमा “सूर्य” मैन सलाई बोक्ने गर्थे । पद्मरत्न शैली दाह्री चर्चित बन्दै थियो । त्यस्तोमा अग्रपंक्तिमा थिए, केशव स्थापित भने अर्का थिए कृष्ण अर्याल । केशव त पद्मरत्न स्टाइलको दाह्री मुसार्दै पद्मरत्नका भाषण हुने कार्यक्रमहरुमा उद्घोषक बन्न पुग्थे । 

पञ्चायती व्यवस्थाको “भण्डाफोर” गर्ने नीति लिएर सर्वाधिक मतका साथ तत्कालीन राष्ट्रिय पञ्चायतमा “माननीय” बन्न पुगेका पद्मरत्नले “जनताले निर्दलीयताको अन्त्य चाहेका छन्, म जनताको निर्वाचित गरेको प्रतिनिधि भएकाले जनताका भावना बोल्नैपर्ने हुन्छ, त्यसैले जनप्रतिनिधिका हैसियतले म पनि यो व्यवस्थाको अन्त्य चाहन्छु” भनेर बोलेपछि पञ्चायती व्यवस्था भित्रैबाट हल्लिन थाल्यो । तर अन्तर्राष्ट्रिय जगतमै चर्चाको विषय बन्न पुग्यो ।

त्यस्तो माहोलमा माननीय पद्मरत्नले एउटा अर्को जनप्रिय घोषणा गर्नुभयो, राष्ट्रिय पञ्चायत सदस्यका रुपमा आउने पारिश्रमिक आफूले नलिने र त्यसलाई निर्वाचन भोटाहिटीमा रहेको प्रचार–प्रसार समितिमार्फत् जनतालाई अति आवश्यक भएका स्थानमा प्राथमिकता अनुरुप बाँडफाँट गर्दै जाने । यस प्रकारको घोषणाले तत्कालीन क्रियाशील युवाहरुमा अत्यन्तै सकारात्मक तरंगित उर्जाको काम गर्‍याे ।
 
पद्मरत्नका यस प्रकारका कुरा र कामको प्रभाव जनमानसमा यस्तो पर्‍याे कि राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनको केही महिनापछि भएको स्थानीय नगर पञ्चायत र गाउँ पञ्चायतका निर्वाचनमा उम्मेदवार बनेका केही युवाले पनि आफ्ना पारिश्रमिकलाई व्यक्तिगत रुपमा प्रयोग नगर्ने घोषणा गर्न थाले । त्यसरी पद्मरत्नको लोकप्रियता र उहाँका प्रशंसकहरु बढ्ने क्रम जारी थियो । 

यसका बावजूद पनि पद्मरत्नका अनुयायीमा तत्कालीन नेकपा (माले) समर्थक बढी थिए भन्ने व्यवहार र तथ्यले देखाइसकेको थियो । स्पष्ट छ, तत्कालीन अवस्थामा भूमिगत मालेले पद्मरत्नमार्फत् भित्री रुपमा संगठन सञ्जाल बढाइरहेको थियो । त्यसकारण पनि पद्मरत्नलाई तत्कालीन माले र पछि एमालेको पक्षपोषण गरेको आरोप लाग्ने गरेको सत्य हो । पछि एमालेले आफ्नो निर्वाचन चिन्ह नै “सूर्य” बनाएपछि पनि पद्मरत्नले सोही चिन्ह लिएर चुनाव लड्नुभयो, र दुईपटक जित्नु पनि भयो । तर उहाँले आफूलाई माले वा एमालेसित आवद्ध गराउनुभएन । यो पक्ष उहाँका विषयमा अर्को चर्चाको विषय बनेको थियो ।

०५४ सालमा एमालेबाट मालेका रुपमा विभाजन भएपछि उहाँले निर्वाचन चिन्ह मालेको “तारा” छनोट गर्नुभयो । त्यस निर्वाचनमा पराजयपछि उहाँले उम्मेदवार बन्ने राजनीतिक मैदान छोड्नुभयो । 

यसबीच पद्मरत्नले प्रतिनिधिसभाका सांसद, एमालेका तर्फबाट बनेका स्वास्थ्य मन्त्री, प्रतिनिधिसभा अन्तर्गत परराष्ट्र तथा मानव अधिकार समितिका सदस्य र केही अल्पकालीन समितिका सदस्यका रुपमा पनि महत्वपूर्ण कार्य गर्नुभएको थियो । सिंहदरवारभित्रको ग्यालरी बैठकमा चल्ने गरेका बैठकहरुमा केही बहुचर्चित भाषणहरु पनि दिनुभयो । त्यसैलाई पद्मरत्नको “सूर्यकाल” भन्ने गरिएको छ । जुन “सूर्य” अहिले एमाले हुँदै नेकपाको बनेको छ, र दुईतिहाई बहुमत बटुलेर सरकार सञ्चालन गरिरहेको छ ।
 
देशमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक संसदीय व्यवस्था रहेका बेला काठमाडौंका निर्वाचन क्षेत्रहरुमा एमालेका क्रमशः मनमोहन अधिकारी, मदन भण्डारी, सहाना प्रधान, प्रदीप नेपाल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, कृष्ण गोपाल श्रेष्ठ र नारायण ढकाल जस्ता उम्मेदवारहरु विजयी भैरहेका थिए । त्यस्तो बेला पनि पद्मरत्नले वामपन्थी उम्मेदवारकै रुपमा “सूर्य” चिन्ह लिएर जित्ने गर्नुभएको थियो । वर्तमानमा “सूर्य” चिन्हलाई आफ्नो बनाएको पार्टीको बहुमतीय सरकार रहेकै बेला उहाँको देहावसान भएको छ, अर्थात् पहिलो सूर्यवाहक भौतिक रुपमा अस्ताएको छ । यस्तोमा वर्तमान राजनीतिक मैदानमा “सूर्यवाहक” हरुका लागि प्रथम “सूर्यवाहक” पद्मरत्नको अन्त्येष्टि अत्यन्तै पीडादायी क्षण नभनी नहुने अवस्था हो ।     
 

अन्तिम अपडेट: चैत ७, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया