ऐतिहासिक हापुरे बजारको बस्ती विकास तथा सहरीकरण गरिने

 कात्तिक ११, २०८० शनिबार २०:३२:१६ | हेमराज शर्मा
unn.prixa.net

वार्ता भएको घर

दाङ – सरकार र तत्कालीन विद्राेही माओवादीबीच शान्ति वार्ता भएको दाङको ऐतिहासिक हापुरे बजारको बस्ती विकास तथा सहरीकरण गरिने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ऐतिहासिक हापुरे बजारको व्यवस्थित सहरीकरण आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयाे ।

दाङको बबई गाउँपालिकामा रहेकाे हापुरेमा २०६० सालमा सरकार र तत्कालीन विद्राेही माओवादीबीच तेस्रो पटक शान्ति वार्ता भएको थियो । याे ठाउँ ऐतिहासिक भएकाले आफूले अवलोकन गरेको र त्यसलाई संरक्षण गर्न पहल थाल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबाेल गजुरेलले बताउनुभयो । वार्ता भएकाे भवनको अवलोकनका क्रममा उहाँले त्याे ठाउँलाई नमुना सङ्ग्रहालय बनाउनुपर्ने भन्दै आवश्यक पहल गर्ने बताउनुभयो ।

द्वन्द्वकालमा एउटा इतिहास बनाएको ठाउँमा कुनै पनि चिनो नराखिएको भन्दै गजुरेलले त्यसको संरचना र चिनारीका लागि सङ्ग्रहालय बनाउनुपर्ने बताउनुभयो । यसका लागि राज्यले पनि पहल थाल्नुपर्ने उहाँको भनाइ छ ।

हापुरेमा शान्तिवार्ता हुँदा तत्कालीन माओवादीको तर्फबाट डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल र कृष्णबहादुर महरा थिए भने सरकारको तर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनी सहभागी थिए । तर त्याे वार्ता भने सफल हुन सकेको थिएन । स्थानीय शिवलाल खत्रीको घरमा वार्ता भएको थियो । त्यो घर अहिले पनि सुरक्षित छ ।

शान्ति वार्ता भएको घरमा अहिले पनि खत्रीको परिवार बस्दै आएको छ । घरकाे कोठामा नेता बाबुराम भट्टराई र कृष्णबहादुर महराको फोटो राखिएको छ । इतिहास बोकेको घरको सम्झना स्वरूप फोटो राखेको खत्रीले बताउनुभयो ।

शान्ति वार्ता भएको घर संरक्षण गरे आउने पुस्तालाई पनि इतिहास थाहा हुने उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया