सागर दाइको मादल पसल

 कात्तिक २०, २०७५ मंगलबार १६:९:३९ | सजना तिमल्सिना
unn.prixa.net

सानो कोठा, कोठा वरिपरि मादल, कुनै बनिसकेका, कुनैको आधा काम सकिएको अनि कुनै चाहिँ काम पनि सुरु नभएका । कोठाको कुनामा धोक्रोमा केही सामान पनि छन् । कोठा सानै भए पनि मानिसको चहलपहल भने बढ्दो । अनि एउटा कुनामा ३६ वर्षीय सागर लामा बस्नुभएको छ ।

अर्को कुनामा उहाँकी श्रीमती र छोरी । अनि बीचमा एक जना मादलको बारेमा सोधिखोजी गर्दै थिए । चार जनालाई बोल्ने फुर्सद पनि छैन । लामा काठको ढुंग्रोमा छालाको तार लगाउँदै हुनुहुन्छ । उहाँले तार लगाएको ढुंग्रोमा खरी हाल्न व्यस्त हुनुहुन्छ लामाकी श्रीमती । अनि छोरीचाहिँ बुवाआमाको काम सहयोग गर्दै हुनुहुन्छ ।

धादिङ स्थायी घर भएका लामाको परिवार ललितपुरको जावलाखेलबाट झण्डै ३ किलोमिटर पर ललितपुरको तिखेदेवलमा बस्छ । दुई छोरा, एक छोरी र श्रीमतीसँग तिखेदेवलमा बस्दै आउनुभएका लामाको परिवारलाई अहिले भ्याइनभ्याई छ । खाना खाने फुर्सद पनि छैन ।

डमरु, तबला, मादल लगायतका बाजा उहाँको परिवारले बनाउँछ । अहिले तिहारका लागि पनि मादलको माग बढेको छ । एउटा मादल बनाउन काठको ढुंग्रो, बाख्राको छाला, गोरुको छाला र खरी चाहिन्छ । लामाले एक दिनमा ५ वटासम्म मादल बनाउने गर्नुभएको छ । मादल बनाउन चाहिने काठको ढुंग्रो धादिङबाट, बाख्राको छाला पाकिस्तान र गोरुको छाला भारतबाट ल्याउने गरेको उहाँ बताउनुहुन्छ ।

काठको ढुंग्रोमा बाख्रा र गोरुको छारा बेरेर भातको माडले खरी टाँसेपछि एउटा मादल बजाउन मिल्छ । भन्न जति सजिलो छ मादल बनाउन त्यत्ति नै गाह्रो । थोरै मात्र गडबडी भए पनि मादल विग्रन्छ । त्यसबाट आवाज आउँदैन । बुबाआमालाई सघाउँदा सघाउँदै १८/१९ वर्षको उमेरदेखि नै लामाले मादल बनाउन थाल्नुभयो ।

३६ वसन्त पार गरेका लामाको परिवारलाई मादल बनाउन मात्र होइन, बाजा बजाउन पनि आउँछ । फुर्सद हुँदा आफूहरु मादल बजाएर दोहोरी खेल्ने अनि नाच्ने गरेको पनि सागर लामा रमाइलो गरी सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो बुवा सात रात सात दिनसम्म नै मादल बजाएर गीत गाउन सक्नुहुन्छ । सानोतिनो चाडमा त घरमा बुवाआमा छोरा छोरी सबै जना बसेर नाचगान गर्छौँ, निकै रमाइलो हुन्छ । हाम्रो परिवार अर्कै छ । रमाइलो गर्न अरु कोही चाहिँदैन ।’

लामाको पसलमा एउटा मादल १३ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्ममा आउँछ । उहाँले एउटा मादल होलसेलमा दिँदा १८ सय देखि २ हजारसम्म लिने गर्नुभएको छ । तर खुद्रा रुपमा बेच्दा भने एउटाको २५ सय रुपैयाँसम्म लिने गर्नुभएको छ । चिसो नहुने घाम लाग्ने ठाउँमा राख्ने र छेउ पारेर बजाउने गर्दा एउटा मादल तीन वर्षसम्म टिक्ने उहाँको भनाई छ ।

यसअघि उहाँले केही समय मालीको काम गर्नुभयो । तर कामै नभएको बेलामा पनि महिनामा एक जनाको कमाई २५/३० हजार हुने भएपछि उहाँ मादलसँगै डमरु, तबला लगायतका बाजा बनाउन लाग्नुभएको हो । उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा ठूलो कुरा सीप हो । आफ्नो हातमा सीप भैसकेपछि अर्काको शरणमा पर्न पनि परेन बरु अरुलाई पनि रोजगारी दिन सकिन्छ ।

भूकम्पअघि पाँच जनालाई तलब दिएर मादल बनाउने काममा राख्नुभएका उहाँ अहिले भने परिवारको सहयोग लिनुहुन्छ । भूकम्पपछि धेरै जना पुनर्निर्माणमा गएकाले कामदार कम भएको उहाँको भनाई छ । अहिले पनि एक दुई जनालाई काम दिन सक्ने लामा बताउनुहुन्छ । 

फोटो : शसिन्द्र गौतम

अन्तिम अपडेट: चैत १४, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया