जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती : प्रधानमन्त्री प्रचण्ड

 मंसिर २, २०८० शनिबार ७:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ ।

नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्नुभएको छ ।

दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्यलाई समयसीमा भित्रमा पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धताकासाथ नेपालले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गरेको तथा हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा नेट जिरो शून्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्व समुदाय कोभिड–१९ महामारी, जलवायु परिवर्तन र गहिरो भूराजनीतिक जटिलताबाट उत्पन्न अभूतपूर्व सङ्कटको सामना गरिरहेको र त्यसबाट खाद्य, पोषण, स्वास्थ्य शिक्षा, अर्थव्यवस्था, वातावरण, शान्तिसुरक्षामा प्रभाव पारेको बताउनुभयो । उहाँले विकासोन्मुख देश त्यसमा पनि विशेषगरी अल्पविकसित देशहरु त्यसखालको सङ्कटबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्नुभयो ।

खाद्यान्न र ऊर्जाको बढ्दो मूल्य, कठोर आर्थिक अवस्था र कमजोरीको निरन्तर चक्रले थप चिन्तित बनाएको प्रधानमन्त्रीको भनाइ छ । ग्लोबल साउथका धेरै देश ऋणको बोझमा परेका कारण स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्त्वपूर्ण राष्ट्रिय प्राथमिकतामा लगानीका लागि दबाबमा परेका पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने आफूहरुको विश्वास रहेको प्रधानमन्त्रीकोे भनाइ थियो । आपसी विश्वास, साझेदारी, सहकार्य प्रवर्द्धन र एकताकासाथ काम गर्नु अत्यावश्यक भएकामा उहाँले जोड दिनुभयो ।

उहाँले सन् २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नती हुने चरणमा पुग्ने र यो प्रक्रियालाई थप सहज, दिगो र अपरिवर्तनीय बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विकासोन्मुख देशहरूको साझा लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भारतलाई सफल रुपमा जी–२० को अध्यक्षता गरेकामा बधाई ज्ञापन गर्नुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया