ताप्लेजुङका एकल महिलालाई अत्मनिर्भर बनाउन निःशुल्क बाख्रा वितरण

 मंसिर २, २०८० शनिबार २०:३२:३० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा एकल महिलालाई अत्मनिर्भर बनाउन निःशुल्क बाख्रा वितरण गरिएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ का एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयले उन्नत जातका बाख्रा निशुल्क वितरण गरेको हो ।

फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले वडावासी एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताउनुभयो । वडाभित्रका ६० वर्षभन्दा कम उमेर भएका ३३ जना एकल महिलालाई एक–एक वटा बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

उहाँका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । वडा कार्यालयबाट बाख्रा पाएपछि राहतको महसुस गरेका एकल महिलाले थोरै भए पनि वडाले दिएको सहयोगले दैनिकी चलाउन टेवा पुग्ने बताएका छन् ।

वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नो घरमा पालेको हुनुपर्ने शर्त राखेको छ । समय समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा पालेको नपाइएमा वडा कार्यालयबाट दिने अन्य सेवा सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको पनि वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया