कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

 मंसिर २५, २०८० सोमबार १८:०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन भएकाे छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज सोमवार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा रहेकाे नयाँ बुटवल सबस्टेशनसम्मको झन्डै ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गर्नुभयो । यस खण्डको निर्माण सम्पन्न गरी गएकाे असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा आएकाे थियाे ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाकाे विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा जाेड्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेशनबाट शुरु भई पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नयाँ बुटवल सबस्टेशनसम्मको झन्डै १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले झन्डै १ हजार २०० मेगावाट बिजुली भार बोक्न सक्ने छ ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारण लाइन नेपालको पूर्व–पश्चिम बिजुली जोड्न र अन्तरदेशीय बिजुली व्यापारका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । डेढ वर्षभित्रमा सुक्खायाममा समेत बिजुली आयात गर्न नपर्नेगरी काम भइरहेकाे उल्लेख गर्दै उहाँले २०९२ सालभित्रमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने कार्यदेश र कार्यदिशाका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले सङ्घीय, प्रदेश र पालिका ३ वटै सरकारको एकीकृत र सामूहिक प्रयासमा सिँचाइमा देखिएको विद्युतीकरणको समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका सांसदद्वय खड्ग बस्नेत र बैजनाथ जैसवालले औद्योगीकरणको प्रचुर सम्भावना रहेको नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा पर्याप्त तथा गुणस्तरीय बिजुली आपूर्तिको व्यवस्था गर्न र प्रसारण लाइन आयोजना निर्माणका क्रममा स्थानीयसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयरूपमा बिजुली खपत गर्न, पूर्व–पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेशन विद्युतकाे ठूलो पुलिङ हबको रूपमा रहेको बताउनुभयो । देशभर नै प्रसारण लाइन बनाउने काम भइरहेको उल्लेख गर्दै घिसिङले यसका लागि आउँदाे ५/६ वर्षभित्रमा ६/७ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनुभयो ।

एसीयाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले कोभिड–१९ महामारी, रुख कटानमा रहेको जटिल कानुनी व्यवस्थालाई पार गर्दै आयोजना सम्पन्न हुनु प्रशंसायोग्य रहेको बताउनुभयो । हिमाली क्षेत्रमा उत्पादन भएको नेपालको हरित स्वच्छ ऊर्जा दक्षिण एसियाली क्षेत्रमा विस्तार र औद्योगिक क्षेत्रमा खपतका लागि प्रसारण लाइनले योगदान पुग्ने उल्लेख गर्दै उहाँले कालीगण्डकी करिडोर आयोजना निर्माणमा अवलम्बन गरिएका राम्रा अभ्यासलाई अन्य आयोजनामा पनि अनुकरण गर्न सकिने बताउनुभयो ।

प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई २ वटा खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको झन्डै ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दुवै सबस्टेशनमा १००/१०० एमभीए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन् ।

कुश्मा–नयाँ बुटवल खण्डमा २३६ वटा टावर निर्माण गरिएको छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेशनसम्म २२० केभीको ४ वटा सर्किट (मल्टी सर्किट) लाइनका लागि टावर निर्माण गरिएको छ ।

देशभित्र उत्पादित बिजुलीकाे आन्तरिक खपत एवम् द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवम् वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि नयाँ बुटवल २२० केभी सबस्टेशनको निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रको भोल्टेज सुधार भएको छ ।

मुस्ताङ, म्याग्दीलगायतका जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाकाे बिजुली यही प्रसारणबाट राष्ट्रिय प्रणालीमा जाेडिने छ ।

रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयवासीको अवरोध, कोभिड–१९ महामारी लगायतका कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो ।

कुश्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ पुसदेखि कार्यान्वयनमा आएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत झन्डै ११ अर्ब रुपैयाँ छ ।

नयाँ बुटवल सबस्टेशनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । भारतसँगको बिजुली व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ ।

देशभित्र खपत गरी बाँकी भएको बिजुली त्यही प्रसारण लाइनमार्फत भारत निर्यात गरिने छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेशन र सरकार तथा प्राधिकरणको लगानीमा बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ । नयाँ बुटवल– लमही (दाङ) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया