आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्, शेयर बजारले लय समातेकाे छ : अर्थमन्त्री महत

 मंसिर २७, २०८० बुधबार १३:२६:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । 

अर्थ मन्त्रालयमा आज बुधवार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताउनुभयो ।

‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए’, अर्थमन्त्री महतले भन्नुभयो, ‘समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारले सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ । तर उत्पादन वृद्धि रोजगार वृद्धिका लागि केही समय लाग्छ । अर्थतन्त्रले निर्णायक रूप लिन्छ । यसका आधार बन्दै गएका छन् ।’ 

मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसँग निरन्तर  छलफलपछि अहिले केही निर्णय आएको र यसले बैंक वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पुर्‍याएको अर्थमन्त्री महतको भनाइ छ । ‘राष्ट्र बैङ्कले नीतिगत दर घटाएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । ऋणीका समस्यालाई पनि सम्बोधन गर्न खोजिएको छ । शेयर बजार र घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिएका छन्’, उहाँले भन्नुभयो ।

त्यस्तै वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले पनि विस्तारै नतिजा देखाउँदै गएको उहाँको भनाइ छ । ‘वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन् । केही बन्ने क्रममा छन् । ठेक्का प्रक्रिया छिटोछरितो रूपमा अघि बढिरहेका छन् । यसबाट पनि बजारमा प्रशस्त पुँजी प्रवाह हुने हाम्रो अपेक्षा छ । विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ’, उहाँले भन्नुभयो । 

‘यथेष्ट प्रतिफल भएका आयोजना मात्रै सहयोग लिन्छौँ भनेका छौँ । दातृ निकाय पनि यसमा सकारात्मक छन्’, महतले भन्नुभयो । आउँदो आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको पनि अर्थमन्त्री महतले भन्नुभयो ।

‘संसारमा यस्तो कुनै अर्थतन्त्र छैन जहाँ समस्या नदेखिएको होस् । हामीकहाँ वर्षौँदेखि थपिँदै र बढ्दै आएका समस्याको पहाड थियो । त्यसलाई एकैपटक हल गर्छु भन्नु सम्भव थिएन ।  तर समस्या बिस्तारै हट्दैछन् । अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ’, उहाँले भन्नुभयो ।

चालु खर्चलाई एउटा सीमामा राखेको र पुँजीगत खर्च बढाउनतर्फ लागेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन पनि बढेको अर्थमन्त्री महतले भन्नुभयो । यो अवधिसम्ममा सरकारको राजस्व सङ्कलन सात दशमलव ५७ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर (भ्याट) सात दशमलव १९ प्रतिशत र आयकरतर्फ १२ प्रतिशतले बढेको उहाँले बताउनुभयो ।

सरकारले शुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्नेगरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरू फुकाउने, जाजरकोटका भूकम्प प्रभावितलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनःसंरचना गर्ने र युवालाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्ने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

सरकारले आउँदो वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने उहाँको भनाइ छ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरूको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको अर्थमन्त्रीले बताउनुभयो ।

‘दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युतको विकास, पर्यटन, कृषिको व्यावसायिकीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ’, उहाँले भन्नुभयो ।

एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि गतिविधि हुन नदिने अर्थमन्त्री महतले बताउनुभयो । ‘कानुन मान्छु भनेर आएको कम्पनीले अहिले कानुन मान्दिनँ भन्न पाउँदैन । नियामकले यस विषयलाई गम्भीररूपमा हेर्छ । कानुनअनुसार उठाउनुपर्ने कर एनसेलबाट उठाउँछौँ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया