बालकृष्ण खाणलाई रिहा गर्नु पहिले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार लगिने

 मंसिर २९, २०८० शुक्रबार ६:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो ।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेको छ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाण्डौले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो ।

उच्च अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएमा खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा लगिनेछ, त्यहाँबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ । यसअघिका प्रतिवादीहरुलाई विभाग र अख्तियारले तारेखमा रिहा गरेकाले खाणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो । हिजो उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाणलाई छाड्नेबारे राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया