सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा रहेको जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा परेको बताउनुभयो । आधारभूत तहदेखि नै पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा पर्दै आएका छन् । तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ । हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।’
समुदायको आफ्नै पहल, लगानी र संरक्षकत्वमा स्थापित यस विद्यालयले आफ्नो जीवनको आधा शताब्दीको शैक्षिक यात्रा पूरा गरेकामा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो ।
अभिभावकको सहभागिता, शिक्षकहरूको सहजीकरण, स्थानीय सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ‘शिक्षा सम्मेलन २०८०’ सम्पन्न गरेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो । ‘तपाईँहरूले यस विद्यालयलाई एक्काइसौँ शताब्दीको विश्वव्यापी प्रतिस्पर्धा एवम् युगसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले ‘बृहत सामुदायिक विद्यालय’ को मोडेलमा नमुना विद्यालयलाई अझ परिस्कृत गर्दै लैजाने दस वर्षे रणनीतिसमेत तयार पारेकोसमेत मलाई जानकारी छ । मलाई विश्वास छ, यस रणनीतिमा आधारित रहेर देशभक्तिपूर्ण भावनाले ओतप्रोत, आत्मनिर्भर, स्वरोजगारमुखी प्राविधिक शिक्षामा यहाँहरूले अपेक्षित सफलता हासिल गर्नुहुनेछ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
‘शिक्षा आर्जन गर्नुको अर्थ आफ्नो व्यक्तिगत जीवनको सफलताको एउटा महत्त्वपूर्ण आयाम त हो नै, तर त्यो मात्रै सम्पूर्ण चीज होइन । आजको एक विद्यार्थी भोलिको देशको कर्णाधार, नीति निर्माता र कार्यान्वयनकर्ता पनि हो,’ प्रधानमन्त्रीले अगाडि भन्नुभयो ।
शिक्षाले देश भक्तिको भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्ने उहाँको जोड छ । सङ्घीय लोकतान्त्रिक प्रणाली, हाम्रो संविधानको व्यवस्था र नवीनतम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षामा गुणात्मक रूपान्तरण गर्नु देशको महत्त्वपूर्ण कार्यभार भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
जनता, अभिभावक र सरोकारवाला निकाय एवम् पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै त्यस विधेयकलाई संसद्बाट पारित गराइ छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।