शिक्षककाे तलब १ रुपैयाँले भए पनि कर्मचारीकाे भन्दा बढी हुनुपर्छ : सांसद पाैडैल

 पुस ८, २०८० आइतबार १९:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीकाे भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताउनुभएको छ ।

आज आइतवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले शिक्षककाे तलब एक रुपैयाँले भए पनि कर्मचारीको भन्दा बढी हुनुपर्ने धारणा राख्नुभएको हो । उहाँले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुशी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म उनीहरूले सङ्गठनात्मक गतिविधि गरिरहने बताउनुभयो । त्यसो हुँदा शिक्षण सिकाइमा स्तरीयता पनि नहुने सांसद पाैडेलकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विद्यालय बनाउने भनेका शिक्षक नै हुन् । हामीलाई चित्त बुझोस्, नबुझोस् । जबसम्म शिक्षक खुशी भएर विद्यालयमा प्रवेश गर्दैनन्, राज्यको राम्राे सेवा सुविधा नपाएसम्म उनीहरू सङ्गठनात्मक गतिविधि गरिरहन्छन् । एक रुपैयाँले भए पनि शिक्षकको तलब कर्मचारीकाे भन्दा बढी हुनुपर्छ भन्ने पक्षमा छु म । राज्यले त्यसरी प्रोत्साहन नगर्ने हो भने शिक्षा प्रणाली अरूले सुधार्न सक्दैन ।’

सांसद पाैडेलले कार्यालय सहयोगी, लेखापाल र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको समस्या पनि विद्यालय शिक्षा ऐनले समाधान गर्नेगरी आउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया