एउटै वडामा झन्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन

 पुष ९, २०८० सोमबार २०:४८:२३ | रासस
unn.prixa.net

तनहुँ – तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।

३ नम्बर वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गएको वर्ष पनि तीन करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका यहाँका किसानले अहिले पनि त्यही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक किसान भीमबहादुर थापाले जानकारी दिनुभयो ।

यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उहाँको भनाइ थियो । यस वर्ष ५५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्नुभएका थापाले भन्नुभयो, ‘धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।’ उहाँका अनुसार शुरुका दिनमा थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्नेहरू अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तला खेतीले किसानको जीवनस्तर बदलिएको छ ।

यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका किसानले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रूपमा देवघाट परिचित छ । थापाले भन्नुभयो, ‘विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यति बेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट २० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’

स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरू पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरू गाउँ फर्किए ।’

छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाउनुभएको छ । यस वर्ष दुई लाख ५० हजार रुपैयाँको सुन्तला बेचिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।’ गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रूपमा विकास भएको बताउनुभयो ।

देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि किसानले समस्या भोगिरहेका छन् । नदीपारि रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला उत्पादक किसानको गुनासो थियो ।

लुङ्ग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जीपमा राखेर सुन्तला ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।

गाउँपालिकाले सुन्तला उत्पादक किसानलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न ३० लाख रुपैयाँ विनियोजन गरेको छ । नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने गाउँपालिकाले बताएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया