टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

 पुस ११, २०८० बुधबार १७:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिदको प्रक्रियामा गैरकानुनी काम भएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा आज बुधवार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियामा गडबडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

समितिले यसको अनुसन्धानको प्रगति विवरण हरेक ३० दिनमा समितिलाई बुझाउन पनि भनेको छ । समितिले अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानी, नोक्सानी हुने गरी काम भएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीकाे प्राथमिकताका साथ मुद्दा दर्ताको प्रक्रियामा लैजान पनि आयोगलाई निर्देशन दिएको छ । समितिले टेरामक्स खरिद प्रक्रियामा सर्तहरु ठेक्काका बेला पटक–पटक फेरिएको उल्लेख गरेको छ ।

नेपालमा जस्तै प्रणाली अल्जेरिया र इरानमा यही कम्पनीले न्यून मूल्यमा उपलब्ध गराए पनि नेपालमा भने त्यसको तुलना र बजार विश्लेषण नगरि प्रक्रिया अगाडि बढाएकोप्रति समितिले आशङ्का व्यक्त गरेको छ । यस्तै स्थानीय मुद्रा डलरमा सटही गर्दा समयको परिवर्तन र बजार भाउमा फरक परि झन्डै ५० करोड रुपैयाँ नोक्सानी हुने देखिएको समिति सभापति ऋषिकेश पोखरेलको भनाइ छ ।

टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न भन्दै दूरसञ्चार प्राधिकरणले तीन अर्ब ११ करोड रुपैयाँको लागतमा टेरामक्स भित्राएको थियो । तर कल डिटेल, एसएमएसलगायत अति व्यक्तिगत विवरण सङ्कलन हुने र गोपनीयताको विषय जोडिएको भन्दै टेरामक्स प्रविधिबारे प्रश्न पनि उठेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया