देशको अर्थतन्त्र बलियो बन्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड

 पुस १३, २०८० शुक्रबार १७:२३:४६ | रासस
unn.prixa.net

दोलखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र बलियो बन्दै गएको बताउनुभएको छ । आज दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो ।

‘पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थतन्त्रमा सुधारले देशमा उत्साह देखिएको छ ।’ उहाँले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले दोलखाको उत्पादन बढाउन र पर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गएको वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताउनुभयो । उहाँले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताउनुभयो । उहाँले  दोलखामा ‘फिल्म सिटी’ निर्माणका लागि सरकारको सहयोग रहने समेत स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अहिले पर्यटकमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा पूर्वमन्त्री पार्वत गुरुङले देशको आर्थिक अवस्था सुधारका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री जीपछिरिङ लामाले देशको आर्थिक विकासका लागि दोलखामा जलविद्युत्को राम्रो सम्भावना रहेको र सरकारले लगानी गर्ने आवश्यक रहेको धारणा राख्नुभयो । 

बाग्मती प्रदेश सरकारका पूर्वमन्त्री विशाल खड्काले जिरीमा विमानस्थल आवश्यक भएको भन्दै विमानस्थल निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । आजदेखि शुरु महोत्सव पुस २२ गतेसम्म चल्नेछ । महोत्सवका क्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया