बालकुमारी सडकमा अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएन : मन्त्री ज्वाला

 पुस १६, २०८० सोमबार १५:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले त्याे रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको जिकर गर्नुभएकाे छ ।

आज सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गएकाे शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले त्याे क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो । गएकाे शुक्रवार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले त्यही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरीले बल प्रयाेग गर्दा दुई जना युवाकाे ज्यान गएको थियो ।

यही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी सडक भएर आउजाउ गरिरहेकाे र त्याे दिन पनि बैठकबाट निस्किएर मन्त्रालय जाने क्रममा त्याे घटना भएको बताउनुभयो । उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको उल्लेख गर्नुभयाे । आफूहरूलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘त्यस दिन पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । सिंहदरबारमा मन्त्रालयमा पनि एउटा बैठक थियो । पार्टीकाे बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि पार्टीकाे बैठकमा फर्किने उद्देश्यले म बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी भएन । हामी सामान्य रूपमा बाहिर निस्कियौँ ।

मन्त्री ज्वालाले घटनाप्रति दुःख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरू निर्दोष हुँदाहुँदै पनि आराेप लगाइएकाे भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सुरक्षाकर्मीको कमजोरीलाई आफूहरूतिर थोपरेकाे उहाँकाे भनाइ थियाे ।

हामी निस्किसकेपछि बीचमा अलिकति अगाडि बढिसकेपछि पारिपट्टी केही डिस्टर्ब हामीले महसुस गर्‍याैँ । अब के गर्ने भनेर त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने, पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍याैँ । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा भीड झन् उत्तेजित होला भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किएँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो भन्ने कुरा पनि छानबिनबाट पनि थाहा होला । हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ, प्रदर्शनकारीहरूले घेरिरहेका छन्, छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍याे भनेर कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि झन्डै २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मी पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरूले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

‘यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्णरूपमा गलत कुरा हो । किनकि सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरू गाडी पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भएकाे भए हामी जाँदैन थियौँ’, मन्त्री ज्वालाले भन्नुभयाे ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया