नागरिकको पिर र दुःखमा साथ दिँदा आक्रमण गर्नेहरू आफैँ परास्त हुन्छन् : रवि लामिछाने

 माघ २१, २०८० आइतबार १८:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रव्यापी दबाब अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट शुरु भएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट शुरु भएको अभियान आउँदो चैत २१ गतेसम्म चल्ने छ ।

रास्वपाले सबै प्रदेशबाट तीन/तीन वटाका दरले २१ वटा रुग्ण तथा अलपत्र पारिएका योजना छनाेट गरी त्यहाँ दबाब यात्रा गर्न लागेको जनाएको छ । मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाण्डौ दबाब यात्राको अगुवाई सांसद सोविता गौतमले गर्नुहुने छ ।

आज मेलम्चीमा भएको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले सरकारको गैरजिम्मेवारीले अलपत्र पारेका आयोजनाको निर्माण सम्पन्न गर्नका लागि आफूहरूको अभियान शुरु भएको बताउनुभयो । आफूहरूकाे दबाब अभियानलाई कतिपयले राजनीतिक र कुटनीतिक रङ्ग पोत्न खोजेको भन्दै सभापति लामिछानेले नागरिकको पिर र दुःखमा साथ दिँदा आक्रमण गर्नेहरू आफैँ परास्त हुने बताउनुभयो । उहाँले नागरिकको जीविकासँग राजनीति नगर्न आग्रह गर्नुभयो ।

देशको जुन ठाउँमा गए पनि भत्काएर छाड्ने तर निर्माण सम्पन्न नगर्ने रोग देखिएको भन्दै रवि लामिछानेले घुस र कमिसनभन्दा पनि नागरिकको समस्या र देशको विकासलाई ध्यानमा राखेर काम गरेको भए अहिले यस्तो अवस्था नआउने बताउनुभयो । मेलम्चीको पानी हिउँदमा काठमाण्डौ लगेर उद्घाटन गर्न नेताहरूले तँछाडमछाड गरे पनि बाढी पहिरोको समस्या समाधानमा सिन्को पनि नभाँचेको लामिछानेको आरोप छ ।

अहिले अस्थायी रूपमा मेलम्चीको पानी काठमाण्डौ आएको छ । तर बाढी पहिरोले आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्‍याउने डरले बर्खा लाग्नेबित्तिकै बन्द गर्नुपर्ने अवस्था छ । सरकारले ७५ अर्ब रुपैयाँभन्दा धेरै रकम र २५ वर्षको समय लगाए पनि सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी स्थायी रूपमा काठमाण्डौ ल्याउन असफल भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया