संसद्को हिउँदे अधिवेशन : दलीय आधारमा शीर्ष नेताकाे सम्बोधन अर्को बैठकमा, सांसदहरूकाे विद्युतीय हाजिरी शुरु

 माघ २२, २०८० सोमबार १८:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको १५ औँ अधिवेशन शुरु भएको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।

यस्तै बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८०’ र  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्नुभयो ।

यसअघि अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा शीर्ष नेताले सम्बोधन गर्ने अभ्यास रहेकोमा यस पटक पहिलो बैठकमा सम्बोधन भएन । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको आजदेखि फागुन १५ गतेसम्मको कार्यसूचीअनुसार राजनीतिक दलका तर्फबाट सम्बोधन आउँदो बुधवारको बैठकमा हुने छ ।

बुधवार बिहान ११ बजे बस्ने बैठकमा शून्य समयसमेत राखिनेछ । फागुन ६ गते बस्ने तेस्रो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका छ । फागुन १० गते शून्यसँगै विशेष समय थपिएको छ । फागुन ११ गते शून्यसँगै विशेष समयमा राखिएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । फागुन १४ गते मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची छ ।

सबै बैठकमा प्रस्तुत गर्ने, छलफल गर्ने तथा अघि बढाउने विधेयकहरूको सूची पनि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको छ । फागुन १४ गते नै प्रि–बजेट छलफल शुरु गर्ने पनि कार्यतालिका प्रस्ताव गरिएको छ । यसअघि बर्खे अथवा बजेट अधिवेशनमा मात्रै प्रि–बजेटमाथि छलफल हुने गरेकोमा यस पटक भने हिउँदे अधिवेशनमै शुरु गर्ने भएको हो ।

यसैबीच आजदेखि प्रतिनिधि सभाका सांसदहरूको विद्युतीय हाजिरी शुरु भएको छ । संसद् सचिवालयले सांसदहरूको हाजिरी दैनिक सार्वजनिक गर्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया