कर्णाली राजमार्गको पादुकाखोला खण्डमा धुलो र हिलोको सास्ती, ठेक्काको काम अलपत्र

 माघ २७, २०८० शनिबार १८:२९:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली राजमार्गको पादुका खोलादेखि सुर्खेततर्फको क्षेत्रमा अत्यधिक धुलो र हिलोले सास्ती भएको छ । पक्की बाटो बिग्रेर झण्डै तीनवर्षदेखि कच्ची सडक बनेको छ । तर बेलैमा मर्मत हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

कर्णाली राजमार्गको एक सय ३२ किलोमिटरमध्ये दैलेखखण्डको पादुका खोलादेखि पाल्तडासम्मको १२ किलोमिटर सडक क्षेत्रमा पर्ने कच्चीबाटोमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या बल्झिरहने गरेको छ । 

पादुका खोला दैलेख जिल्लाको भैरवी छहराबाट उद्गम भएर पादुकास्थान हुँदै कर्णाली नदीमा मिल्ने खोला हो । कर्णालीको जीवनमार्गको रुपमा रहेको कर्णाली राजमार्गमा दैनिक गुडिरहने गाडी अनि नेपालको सबैभन्दा ठूलो रारातालमा घुम्न पुग्ने पर्यटकलाई लागि बाटोले सास्ती दिने गरेकाे छ। चालक आदित्य शाहीले बाटोको खराब अवस्थाले हैरान भएको बताउनुभयो । उहाँले जोखिम हुँदा पनि सम्बन्धित निकायबाट कुनै पहल नभएको गुनासो गर्नुभयो ।

कर्णाली राजमार्गको सुर्खेतबाट दैलेख दहीखोलासम्मको एक सय ३२ किलोमिटरको सडक–सडक डिभिजन कार्यालय सुर्खेत र दही खोलादेखि जुम्लासम्मको खण्ड सडक डिभिजन कार्यालय जुम्लाको जिम्मामा छ । यस अन्तर्गत अहिले दैलेख खण्डमा सबैभन्दा धेरै धुलाम्मे सडक छ । मर्मतका लागि कामको जिम्मा लिएको निर्माण व्यवसायीले निर्माण समयमै नगरेपछि समस्या भएको हो ।

सडक डिभिजन कार्यालयका फिल्ड इञ्जिनियर अशोक चौधरीले थेगिम–मजदुर–नाम्जिला आकांक्षा जेभी निर्माण व्यवसायीले तीन ठाउँमा ३१ किलोमिटर सडक मर्मत गर्ने भनेर २०७८ असोज २२ गते ११ महिनाका लागि सम्झौता गरेको तर काम अहिलेसम्म हुन नसकेको बताउनुभयो । इञ्जिनियर चौधरीले निर्माण व्यवसायीले सम्झौताअनुसारको काम नगरेपछि ठेक्का तोड्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । ११ करोड रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएकोमा दुई करोड रुपैयाँ, भुक्तानी लिइसकेको छ । 

सडककै अर्को खबर, लमजुङको बेँसीसहर–चामे सडकको झण्डै ८ किलोमिटर कालोपत्र भएको छ । लमजुङ–मनाङ जोड्ने एक मात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको ७ दशमलव ८ किलोमिटर सडक कालोपत्र भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले यो सडकमा ८५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । योजना कार्यालयका अनुसार सडक स्तरोन्नति तथा कालोपत्र गर्न अहिलेसम्म १९ करोड रुपैयाँ खर्च भएको छ । ट्राक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको इञ्जिनियर पोखरेलले बताउनुभयो ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण शुरु गरेको थियो । पछि २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया