हिउँदयाम सकिन लाग्दा केही वर्षा र हिमपात भए पनि यस वर्षको हिउँद सुक्खा

बोटविरुवाको प्रजनन क्षमता घट्ने, विपद्का घटना बढ्ने चिन्ता

 फागुन ११, २०८० शुक्रबार १५:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – हिउँदयाम सकिन लाग्दा भएको केही वर्षा र हिमपातले किसानहरूलाई खुशी बनाएको भए पनि समग्रमा यस वर्षको हिउँद सुक्खा बनेको छ ।

मङ्सिर १५ देखि फागुन १५ गतेसम्मलाई हिउँदयाम मानिन्छ । यो तीन महिनामा औसतमा ६० मिलिमिटर पानी पर्नुपर्ने हो । तर यस वर्ष हिउँदयाम सकिन पाँच दिनमात्रै बाँकी रहँदा औसतको आधा वर्षा पनि भएको छैन । भएको वर्षा पनि हिउँदयामको अन्त्यतिर मात्रै भएको हो । हिउँदे खेतीपातीका लागि महत्त्वपूर्ण हुने मङ्सिर–पुसमा वर्षा निकै कम भयो ।

मौसम विज्ञान विभागका वरिष्ठ मौषमविद् विभूति पोखरेल पश्चिमी वायु आइरहे पनि सक्रिय नभएका कारण अपेक्षा गरेअनुसार पानी पर्न नसकेको बताउनुहुन्छ । पछिल्लो पाँच वर्षलाई हेर्ने हो भने हिउँदयाममा पानी पर्ने क्रम निरन्तर घट्दै गएको उहाँले बताउनुभयो । पछिल्लो वर्षमा हिउँदयाम कटेपछि मात्र पानी बढी पर्ने गरेकाले यस वर्ष पनि प्रि–मनसुनमा केही धेरै पानी पर्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

वातावरणविज्ञ सनोत अधिकारी पछिल्ला केही वर्ष हिउँदयाममा पानी पर्ने क्रम बिस्तारै सुस्ताउँदै जाँदा पर्यावरणीय क्षेत्रमा नै असर पर्ने गरेको बताउनुहुन्छ । पर्याप्त मात्रामा हिउँ तथा हिउँदे वर्षा नहुँदा पानीका मुहानहरू पनि सुक्दै जाने खतरा हुन्छ भने वायु प्रदूषण, सुक्खाका कारण आगलागीको जोखिम लगायतका समस्या हुन्छ ।

हिउँदमा पानी पर्दा बोटविरुवाको प्रजनन क्षमता पनि बढ्छ । जसका कारण देशको कुल गार्हस्थ्य उत्पादनमा नै सकारात्क प्रभाव पर्दछ । तर पछिल्लो पाँच वर्षको हिउँदे वर्षाको तथ्याङ्क हेर्दा यसले देशकै कृषि क्षेत्रको उत्पादनमा पनि असर गरिरहेको वातावरणविज्ञ अधिकारीको भनाइ छ ।

यसैबीच पश्चिमी वायुको प्रभाव घट्दै जाँदा देशभरकै मौसम सफा हुँदै गएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया