सङ्घीय संसदबाट थप २ वटा विधेयक पारित, प्रतिनिधि सभाको चुनावपछि बनेका कानुनको सङ्ख्या बल्ल ३ पुग्यो

 फागुन १८, २०८० शुक्रबार १८:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज सङ्घीय संसदबाट दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक र प्रतिनिधि सभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित भएसँगै यी दुवै विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका हुन् ।

अब राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । सम्बन्धित सभाले स्वीकार गरेपछि सभामुख वा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुनेछ ।

प्रतिनिधि सभाबाट यसअघि नै पास भएर गएको सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक आज राष्ट्रिय सभाबाट पारित भएको छ । यस्तै आजै प्रतिनिधि सभाले पनि राष्ट्रिय सभाबाट पास भएर गएको अनुगमन तथा मूल्याङ्कन विधेयक पारित गरेको हो ।

गएको वर्षको मङ्सिरमा प्रतिनिधि सभा सदस्यको चुनावपछि सङ्घीय संसद्ले बनाएको यी दुई वटा कानुन दोस्रो र तेस्रो हुन् । यसअघि गएको साउन १२ गते सङ्घीय संसदबाट पारित भएर गएको मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । त्यो प्रतिनिधि सभा सदस्यको चुनावपछिको पहिलो ऐन हो । पहिलो ऐन बनेको सात महिनापछि सङ्घीय संसद्ले बल्ल थप दुई वटा ऐन बनाएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया