प्रदेश संरचनाले सङ्घ र पालिकालाई जाेड्न पुलकाे काम गरेकाे छ : प्रधानमन्त्री प्रचण्ड

 फागुन १९, २०८० शनिबार १८:९:० | रासस
unn.prixa.net

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय प्रणालीमा प्रदेश संरचनाले सङ्घ र पालिकालाई जोड्न पुलकाे काम गरेकाे बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सभाको आजदेखि शुरु भएकाे हिउँदे अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयताका नवीन र असल अभ्यासको अनुकरण र अवलम्बन गर्दै नेपालले सङ्घीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै सङ्कल्प गर्न जरुरी छ ।’

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्यलगायतका विषयमा महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम बाँकी रहेको बताउनुभयो । ‘आउँदा दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवम् सेवा प्रवाहका क्षेत्रमा धेरै काम बाँकी छ’, उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना देखाएको  छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्था विरोधीहरूको षड्यन्त्र निस्तेज पार्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गर्नुपर्छ ।’

प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत सङ्घीयता कार्यान्वयनमा रुचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पार्नुभयो ।

प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथम्कदाचित दिइहालेमा पनि ससर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै उहाँले यस पटक त्यस्तो सोच र परम्परा तोड्ने सङ्कल्प गरिएको बताउनुभयो ।

सङ्घीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐनको मस्यौदा संसदमा प्रस्तुत भइसकेको, सङ्घीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐनलगायतका अन्य मस्यौदा पनि छिट्टै संसदमा प्रस्तुत हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर विभिन्न परिवर्तनका आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गर्नुभयो ।

नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया