पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन

 चैत १, २०८० बिहिबार ७:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन गर्नु भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा गठन भएको समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा हुने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाकाबीच ई सेभन भिसामा समेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएको छ । विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषयमा समेत विवाद देखिएको छ ।

यी विषयहरूमा सञ्चारमाध्यम, श्रमिक तथा विभिन्न संघसंस्थाले समेत प्रश्न उठाउँदै आएका छन् । यसअघि निवर्तमान श्रममन्त्री भण्डारीबाट विवादित निर्णय भएकोमा ती निर्णयहरूलाई तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले निर्णय कार्यान्वयन गरेको छैन ।

प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक–कामदार स्वयम्रबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर  गर्दै अध्ययन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिलाई २१ दिनको समय दिइएको छ ।

 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया